१२ बैशाख २०८१, बुधबार

उम्मेद्वार चयन विवाद चुलिएपछि कांग्रेस सभापति देउवा दबाबमा

308235605 1238441633600174 7629926996290006116 n

आगामी निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा छ ।

समानुपातिकतर्फको बन्दसूचीप्रति शेखर कोइराला समूहको असन्तुष्टी छताछुल्ल मात्र भएको छैन, सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने देखिएको छ ।

कोइराला समूहका नेताहरु निर्वाचनमा विद्रोह गर्नेसम्मको चेतावनीमा उत्रिएपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पार्टीको विवाद मिलाउन र गठबन्धन समस्या आउन नदिने रणनीतिको खोजीमा लागेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको बन्द सूचीलाई लिएर नेता शेखर कोइराला समुह असन्तुष्ट छ । यो समूहले सभापति शेरबहादुर देउवालाई दबाब दिन खबरदारी सभा गर्नेदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिनेसम्म गरेको छ ।

त्यति मात्र होइन निर्वाचनमा विद्रोह गर्ने चेतावनी दिएपछि गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलेसमेत पार्टीको विवाद मिलाउन देउवालाई दबाब दिएका छन् । चौतर्फी दबाबमा परेका देउवा अब समानुपातिकको सूची हेरफेर गर्ने र प्रत्यक्षतर्फका उम्मेदवारी चयनमा केही लचक बन्न बाध्य भएका छन् ।

त्यसो त कोइराला समूह एकजुट छैन भन्ने बुझाइ सभापति देउवाको छ । त्यही कारण उनी यो समूहले दाबी गरेको ४० प्रतिशत भाग दिन तयार छैनन् । तर गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीले आन्तरिक विवाद मिलाउन देउवालाई दबाब दिएका छन् ।

किनकी माओवादी र एकीकृत समाजवादीको बुझाई कांग्रेसको विवादले चुनावमा असर पर्छ भन्ने छ । त्यही कारण अहिले देउवा दबाबमा परेका हुन् ।

गठबन्धनका दल र पार्टीभित्रको एउटा समूहको चर्को दबाबमा परेका देउवा समानुपातिकतर्फको बन्द सूची फेरबदल गर्न तयार भए पनि प्रत्यक्षतर्फ भाग मिलाउन भने सजिलो छैन ।

गठबन्धनमा बाँडफाँट गर्दा प्राप्त हुने सीमित सिट र त्यसमा पार्टीभित्रका गुट–उपगुटको चित्त बुझाउन देउवालाई फलामको च्यूरा सरह हुने देखिन्छ ।