१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीको सम्बोधनः कोरोनाको मारमा परेका निजी क्षेत्रका लागि सरकारले राहत प्याकेजको घोषणा

kp oli pPzc4lRUsK

कोरोना महामारीका कारण जारी लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रको नाममा गरेको सम्बोधनमा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको व्यवस्था गर्ने बताएका छन्। यस्तै, विद्युत लगायतका क्षेत्रमासमेत छुट सुविधा दिइने उनले बताए।

प्रधानमन्त्रीले कृषिजन्य उत्पादन वृद्धि हुने आशासहित केही वस्तुको आयात रोक्ने बताएका छन्। नेपालमा विचौलियाका कारण कृषकले उचित मूल्य नपाएको गुनासो आइरहेको भन्दै त्यसलाई हटाउने उनले बताए।

राहत ल्याउने घोषणा गरेका प्रधानमन्त्रीले के कति ल्याउने भन्ने विषय भने खुलाएका छैनन् । उनले राहत सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र सवल हुनका लागि निजी क्षेत्र सवल हुनुपर्ने विषयमा आफू जानकार रहेको भन्दै उनले अर्थ मन्त्रालयले प्याकेज घोषणा गर्ने बताएका छन् ।

‘निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘शिथिल बन्न पुगेको अर्थ व्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’

यस्तै, सरकारले विकास आयोजना लाई प्राथमिकिकरण गरी अघि बढाउने पनि उनले बताएका छन्।