६ बैशाख २०८१, बिहीबार

आफ्नै घर उद्घाटन गर्दै प्रचण्ड !

prachanda 2
फाइल फोटो

निर्वाचन निजकिँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा दौडधुप बढ्दै गएको छ । आइतबार चितवन पुग्नुभएका प्रचण्डले दुई दिन त्यहाँ बिताउनुभयो ।

दुई दिने बसाईंमा प्रचण्डले पूर्व जनमुक्ति सेनाको भेला, पार्टी प्रवेश कार्यक्रम र आफ्नो नयाँ निवास उद्घाटन मात्र गर्नुभएन माछा व्यवसायीको गुनासो समेत सुन्न भ्याउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहानै चितवन पुग्नुभयो । चितवन ओर्लिएलगत्तै प्रचण्ड जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अबकास पाएका सैनिकको भेलामा पुगेर सम्बोधन गर्नुभयो ।

त्यसपछि सोही दिन चितवनका माछा व्यवसायीसँग समेत भेट गर्न भ्याउनुभयो । त्यहाँ पुगेर माछा व्यवसायीको माग सम्बोधन गर्ने ढाडस दिनुभयो ।

त्यसपछि जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्न पनि भ्याउनुभयो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्येय जनताको अवस्था बदल्ने रहेको भन्दै सम्बोधन समेत गर्नुभयो ।

आइतबार भन्दा सोमबार प्रचण्डको निकै दौडधुप थियो । बिहानै प्रेस सेन्टर चितवनले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सञ्चारमाध्यामले जनयुद्धका बेला पनि साथ दिएको भन्दै सम्बोधन गर्नुभयो । दिनभर परेको पानीको बेवास्ता गर्दै कार्यक्रममा सहभागी हुन व्यस्त भएका प्रचण्ड आफ्नो नयाँ घरमा गृह प्रवेश गर्नुभयो ।

चितवनको शिवनगरमा प्रचण्डले घर बनाएर बसोबास गर्ने बताएसँगै उहाँका बालसखा भने अब शिवनगरवासीले जग्गाको लालपूर्जा पाउनेमा आशावादी देखिनुहुन्छ ।

प्रचण्डको व्यस्तताले चुनावी चहलपहल सुरु भएको प्रष्ट पारेको छ । कार्यकर्ता भेलादेखि पार्टीप्रवेश कार्यक्रम मात्र नभई माछा पालकसँग पनि गएर भेटघाट गर्नुले प्रचण्डले दुई दिने गृहनगर बसाईलाई घरदैलो अभियान मज्जैले बनाउनुभयो ।