१३ बैशाख २०८१, बिहीबार

“कू” को हल्ला चीनमा, विज्ञ भन्छन्, “सम्भावना छैन”

इन्टरनेटमा चीनमा ‘केही भइरहेछ’ भनेर हल्ला फैलिएको छ। ती हल्लावाला खबरले राष्ट्रपति सी जिनपिङ विरुद्ध पश्चिमी चीनमा राजनीतिक वा सैन्य “कू” भएको बताइरहेका छन् अनि सम्भावित सैन्य बिद्रोहका बारेमा स्थानीय मानिसहरूको अनुमानका खबर छन्। तर त्यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन।

चीनका केही भागहरूमा यात्रु विमानका उडानहरू रद्द गरिएका, सी जिनपिङ केही समयदेखि सार्वजनिक रूपमा नदेखिएको र राजधानी बेइजिङतर्फ गइरहेको सैन्य गाडीहरूको फुटेज समावेश गरेर त्यस्ता अनुमानका प्रमाणका रूपमा देखाइएको छ। यद्यपि, यी अनुमानहरूमा कुनै आधिकारिक टिप्पणी आएको छैन र राजधानीतर्फ सैन्य आन्दोलनको कुनै पुष्टि गर्ने खालको रिपोर्ट प्राप्त भएको छैन।

हजारौं फलोअरहरू भएका ट्विटर खाताहरूले सीको विरुद्धमा एउटा “कू” भएको कुरा सेयर गरेका छन्। उत्तराधिकारीको तस्बिरहरू पनि देखा परेका छन्। यद्यपि, यी अपडेटहरू मध्ये कुनै पनि प्रमाणित वा विश्वसनीय खाताहरूबाट भएका होइन र यी धेरै खाताहरू बेनामी प्रयोगकर्ताहरूका हुन्। त्यसमाथि कथित सैन्य “कू”को भिडियो पनि बाहिर आएको दाबी गरिएको छ।

“ती भिडियोमा देशमा ५९ प्रतिशत उडानहरू ग्राउन्डिङ गरिएको र वरिष्ठ अधिकारीहरूलाई जेलमा राखिएको र तुरुन्तै सैन्य सवारी साधनहरू बेइजिङतिर गएको देखाइएको छ। त्यहाँ धेरै धुवाँ देखिएको छ, जसको अर्थ चिनियाँ कम्युनिष्ट पार्टी भित्र कतै आगो लागेको जस्तो छ। चीन अस्थिर देखिएको छ,” लेखक गोर्डन जी चांगले भन्नुहुन्छ। रक्षा मामिलाका भारतीय लेखक सौरभ झाले ट्वीटरमा शनिबार यता तिब्बत स्वायत्त क्षेत्र कुनै हवाई उडान नभएको लेख्नु भएको छ। ” भारतमा हाम्रा लागि यो प्रत्यक्ष चिन्ताको विषय हो। ल्हासा गोङ्गरका धेरै उडानहरू पनि रद्द भइरहेका छन्। हामीले तिब्बती पठारमा सैन्य हवाई यातायातमा वृद्धि भएको छ कि छैन हेर्नु पर्छ,” झाले सम्भावित सैन्य गतिविधिको संकेत गर्दै भन्नुभयो।

धेरैजसो चिनियाँ विज्ञहरूले सामाजिक सञ्जाल, विशेष गरी भारतीय सर्कलहरूमा टिप्पणी भन्दा बाहिर कुको कुनै संकेत नभएको कुरा हाइलाइट गरेका छन्। भारतमा चीनका विज्ञ आदिल बरारले सांघाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलनबाट फर्केपछि सीलाई क्वारेन्टाइनमा राख्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ, जसले सार्वजनिक मामिलाहरूमा उहाँको अनुपस्थितिलाई स्पष्ट पार्छ।

भारतमा चीनका विज्ञ बरारले उडानमा कुनै अवरोध नभएको देखाउने उडानको तथ्याङ्क पनि सेयर गर्नुभएको छ। उहाँले सरकार सामान्य रूपमा काम गरिरहेको सुझाव दिँदै वरिष्ठ चिनियाँ अधिकारीहरूले सार्वजनिक ब्रीफिंगका दृश्यहरू पनि सेयर गर्नुभएको छ। पत्रकार जाक्का ज्याकबले चीनमा सीको शक्तिशाली संस्थागत पकड रहेको कुरालाई हाइलाइट गर्दै भन्नुभएको छ, “कूको सम्भावना छैन।”

“चीनमा सैनिक विद्रोहको बारेमा आज बिहान धेरै हल्लाहरू फैलिएको छ। अहिलेसम्म कुनै पनि कुरा विश्वसनीय देखिएको छैन। चीनमा सैन्य कूको सम्भावना छैन किनभने पीपुल्स लिबरेशन आर्मी केन्द्रीय सैन्य आयोग अन्तर्गत आउँछ। सी, कम्युनिष्ट पार्टीको महासचिवको रूपमा सीएमसीको नेतृत्व गर्नुहुन्छ। सेना पार्टीको हो, सरकार होइन,’ ज्याकबले ट्विटमा भन्नुभएको छ। चिनका बारेमा विज्ञ भारतीय पत्रकार तथा लेखक अनन्त कृष्णनले पनि अहिलेसम्म कुनै ‘कू’को प्रमाण नरहेको बताउनुभएको छ।

“चिनियाँ राजनीति ब्ल्याक बक्सको सबैभन्दा कालो भाग हो, मैले आज बेइजिङमा कुनै पनि सामाजिक सञ्जाल अफवाहहरूलाई पुष्टि गर्न शून्य प्रमाणहरू भेट्टाएँ,” कृष्णनले ट्वीटरमा भन्नुभएको छ। ‍ चिनियाँहरू बीच पनि यो हल्ला फैलिएको छ तर सीले कम्युनिष्ट पार्टी अभूतपूर्व तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ। हङकङको साउथ चाइना मर्निङ पोस्टले चीनमा कुनै पनि कू वा राजनीतिक उथलपुथलको बारेमा कुनै रिपोर्ट गरेको छैन। यसले पछिल्लो २४ घण्टामा चीन र विश्वका विभिन्न मुद्दाहरूको बारेमा दर्जनौं ट्वीटहरू पोस्ट गरेको छ, तर बेइजिङको कथित विकासको बारेमा कुनै संकेत पनि छैन।

श्रोत: आइएनएस/स्वतन्त्र समाचार