
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले संकटका बेला पनि नआत्तिएको भन्दै चौतफी वाहवाही बटुलेकी छिन् । सोमबार बिहानै एक टेलिभिजनको लाइभ अन्तरवार्तामा बोलिराख्दा भूकम्प आएको थियो ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा थिइन् ।
सोही क्रममा ५.६ म्याग्निच्युडको भूकम्प गयो, ज्यासिन्डा भने शान्त रहिरहिन् । उनी अत्तालिइनन् । न्यूजिल्याण्डको उत्तर आइल्याण्डमा भूकम्प गएको हो ।
‘हामीले यहाँ भूकम्पको सानो धक्का महसुस गर्यौं,’ आर्डर्नले न्यूजहब एएम शोका कार्यक्रम प्रस्तोता रायन ब्रिजलाई भनिन् । वेलिङ्टनस्थित न्यूजिल्याण्डको संसदबाट बोल्दै गर्दा भूकम्प आएपछि उनले सिलिङ र आफ्नो वरिपरि हेरिन् । यद्यपि, उनी आफ्नो स्थानमै अडिग रहिन् ।
‘यहाँ भूकम्पको धक्का महसुस भएको छ, हामी सबै ठिक छौं,’ आर्डर्नले ब्रिजलाई भनिन् । आफू अन्तरवार्ताको लागि पुनः तयार भएको संकेत गर्दै उनले भनिन्, ‘म ‘ह्याङ्गिङ लाइट’ को मुनि छैन ।’
अन्तर्वार्ता लिँदै गरेका टेलिभिजन प्रस्तोता रायन ब्रिजलाई प्रधानमन्त्री ज्यासिन्डाले भनिन्, ‘भर्खरै भूकम्प गयो रायन ।’ उनले त्यसो भन्दै गर्दा वरपर हेरेकी थिइन् । उनले मुस्कुराउँदै भनिन्, ‘सारै सभ्य धक्का महसुस भयो, सामानहरु केही हल्लिरहेका छन् ।’
लगत्तै अन्तर्वार्ता उही लयमा अघि बढ्यो । उनले भनिन्, ‘धक्का रोकियो । हामी सबै ठीक छौँ । म कुनै पनि झुण्डिरहेको लाइट वा अरु चिजको मुनि छैन । संरचनागत रुपमा उपयुक्त ठाउँमा छौँ ।’
न्यूजिल्याण्डको सिस्मोलोजी एजेन्सीका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प लेभिनको ३० किलोमिटर उत्तर–पश्चिममा ३७ किलोमिटर गहिराइमा गएको थियो । भूकम्पले केही क्षती नपुर्याएको बताइएको छ ।
न्यूजिल्याण्ड भूकम्पीय गतिविधि अति सक्रिय रहेको क्षेत्रमा पर्छ । त्यहाँ वर्षको १५ हजार भन्दा बढी भूकम्प जान्छ, मात्रै १००–१५० वटा भूकम्प मात्रै महसुस हुने खालका हुन्छन् ।
भूकम्प १५ सेकेन्डसम्म रहेको थियो । एजेन्सी