१३ बैशाख २०८१, बिहीबार

एम्बुलेन्स नपुगेपछि आफैँ बाइक चलाएर टेकु अस्पताल आइपुगे संक्रमित

Coronavirus 1

उद्दारका लागि एम्बुलेन्स नगएपछि संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका छन्।

आइतबार संक्रमण पुष्टि भएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् ।

शनिबार उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको भनेर स्थानीय तहमार्फत जानकारी गराइयो । त्यसपछि ढुक्क भएर आफ्नो दैनिकीमा जुटेका उनलाई आइतबार फेरि अप्रत्याशित फोन आयो–तपाईँलाई कोरोना पोजेटिभ देखियो । उनको मात्रै होइन अघिल्लो दिन गाउँमा कोरोना परीक्षण गराएका सबैमा कोरोना नेगेटिभ आएको भनिएको थियो ।

‘हामीसँग एम्बुलेन्स थिएन, उनको उद्धारका लागि सम्भावित सबैतीर एम्बुलेन्स पठाउन अनुरोध गरियो। तर, कोही आएनन्’, ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले भनिन्।

‘एम्बुलेन्सका लागि उहाँले धेरै प्रयास गर्नुभयो, मैले पनि काठमाडौं महानगरपालिका, नुवाकोट जिल्ला अस्पताललगायतका ठाउँमा टेलिफोन गरेँ, तर उपलब्ध भएन । साँझ परिसकेको थियो, ढिला हुन्छ भनेर मोटरसाइकलमै जानुभयो’ उनले भनिन् ।

उनका अनुसार संक्रमित फेला परेपछि चाउथेको ढुंगानागाउँ सिल गरिएको उपाध्यक्ष खतिवडाको भनाइ छ।

अस्पताल जान तयार भएर बसे पनि कोरोना संक्रमण पुष्टि भएको ७ घण्टा बित्दा पनि अस्पताल लैजान कुनै पहल नभएपछि मोटरसाइकलमै काठमाडौं हिँडेको ती संक्रमितले बताए ।

‘आज बिहानभर म काममा व्यस्त भएँ । गाउँमा खेतबारीमा काम थियो । गाउँमै पानीको काम पनि भएकाले त्यहाँ पनि पुगेका थिएँ । खाना खाएर बसिरहँदा १२ बजेतिर एकाएक कोरोना पोजेटिभ देखिएको भन्दै फोन आयो । पछि टेकुमा फोन गरेर हिजो नेगेटिभ भन्नु भएको थियो आज फेरि पोजेटिभ भन्नु भएको छ के हो भन्दा स्पष्ट जवाफ दिइएन ।

सिसडोलमै एउटा स्वास्थ्य चौकी छ, त्यहाँ बुझ्दा तपाईँको हिजो पनि पोजेटिभको कुरा भएको थियो भनेर भनियो’ आइतबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाले भने, ‘पोजेटिभ आइसकेको भनेपछि अस्पताल जान जिल्ला जनस्वास्थ्य कार्यालयका हाकिमसँग एम्बुलेन्सको कुरा गर्दा आज एम्बुलेन्स गाह्रै छ भन्ने जवाफ दिनुभयो । अन्तपनि कुरा गर्दा पनि सुनुवाइ भएन।’

घरायसी काममा ढुक्कले खटिएका उनलाई  १२ बजेतिर ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले फोन गरेर कोरोना पुष्टि भएको जानकारी गराएका थिए ।

‘म घरबाट ७ किलोमिटर पर तीनपिप्ले भन्ने स्थान नजिकैसम्म मोटरसाइकलमै आएँ । त्यहाँ एम्बुलेन्स लिन आएको जानकारीपछि भने मोटरसाइकल स्थानीय चौकीमा राखेर टेकुमा आएको हुँ,’ उनले भने । 

‘दिनभरी सबैतिर पहल गर्दा पनि एम्बुलेन्स नपाएपछि म मोटरसाइकलमै आइतबार राति ७ बजेतिर एक्लै काठमाडौं हिँडेको हुँ,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयसँग सिल गरिएको ढुंगानागाउँका सबै घरका सदस्यको पीसीआर परीक्षण गर्न माग गरिएको छ। संक्रमित पुरुषका परिवारमासमेत १५ जना भन्दा बढी नातेदार छन्। संक्रमित पुरुष ककनी-३ चाउथे ढुंगानागाउँका हुन्। उनी सक्रिय राजनीतिक कार्यकर्ता हुन्। उनी अधिकांश समय काठमाडौं र गाउँ ओहोरदोहोर गरिरहन्थे।

उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो। तत्काल उनी स्वास्थ्य सुरक्षाका साथ अस्पताल जान तयार भएर बसे पनि कतैबाट पनि एम्बुलेन्स तथा अन्य साधन नआएपछि आफैँले मोटरसाइकल चलाएर अस्पताल गएका हुन्।

नुवाकोट जिल्ला अस्पताल त्रिशूली, टेकु अस्पताल काठमाडौं महानगरपालिकालगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएपछि उनी आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्।

यद्यपि उनी मोटरसाइकल हाँकेर बिच बाटोसम्म पुगेपछि भने काठमाडौं महानगरपालिकाले पठाएको फोनमा जानकारी गराएपछि त्यही एम्बुलेन्समा टेकु आएका थिए । 

उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन। संक्रमित व्यक्तिको बारम्बार ललितपुर र नुवाकोट आउजाउ हुने गरेको खुलेको छ । उनी गाउँबाट काठमाडौं आउजाउ गरिरहन्थे। उनी एउटा राजनीतिक दलको बागमती प्रदेश सदस्यसमेत हुन्। नुवाकोटको ककनी-३ काठमाडौंसँग सीमा जोडिएको क्षेत्र हो। ककनीबाट काठमाडौं पुग्दा उनलाई दुई घण्टा लागेको थियो।