८ बैशाख २०८१, शनिबार

नामले सहयोग अभिवृद्धि गर्ने लक्ष्य राख्नुपर्छ: परराष्ट्र सचिव पौड्याल

bharat raj poudel

परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्र संघको ७७औँ महासभाको पूर्वसन्ध्यामा बुधबार सम्पन्न असंलग्न आन्दोलन (नाम) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्र सचिव पौड्यालले जलवायु परिवर्तन र कोभिड–१९ महामारीले विकासोन्मुख र गरिब मुलुकमा पारेको नकारात्मक प्रभावबारे प्रकाश पारेका थिए ।

उनले यस्ता प्रतिकूलताहरू विरुद्धको लडाइँ जित्न र महामारीपछिको बाटो तय गर्न नामको भूमिकामा जोड दिएका थिए ।

‘नामले बलियो सहयोग अभिवृद्धि गर्ने, जीवन र जीविकोपार्जनमा ध्यान केन्द्रित गर्ने र सबैका लागि समान अवसरहरू सिर्जना गर्न योगदान गर्ने लक्ष्य राख्नुपर्छ,’ परराष्ट्र सचिव पौड्यालले भने ।

उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक, समावेशी र प्रभावकारी बनाउन विश्वव्यापी वित्तीय शासन प्रणालीमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

परराष्ट्र सचिव पौड्यालले नामले उत्तर र दक्षिणबीचको विभाजनलाई सम्बोधन गर्न एउटा शक्ति बनेर निशस्त्रीकरणको दायित्व निःशर्त पूरा गर्नमा जोड दिनुपर्ने बताएका थिए ।

बुधबार साँझ परराष्ट्र सचिव पौड्याल अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।