१४ बैशाख २०८१, शुक्रबार

कहाँ चुक्यो साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल ?

306921540 391071196518705 4969661613533699638 n

साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपाधि जित्नबाट चुकेको छ । दक्षिण एसियाली क्षेत्रमा उपविजेताको छबी बनाएको टोलीले आफ्नो परिचय यस पटक पनि बदल्न सकेन ।

उमेर समूहका हरेक प्रतियोगिता जित्दै अघि बढेको बंगलादेशसँग महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३ एक गोलले पराजित भयो । घरेलु मैदान, दर्शकको साथ तथा भारतमाथि ऐतिहासिक जित हात पार्दै फाइनलमा पुगेको नेपाल आखिर कहाँ चुक्यो त ?

उमेर समुहमा लगानी गरे त्यसको प्रतिफल सिनियर टोलीमा देखिन्छ भन्ने गतिलो उदाहरण हो- बंगलादेशको महिला फुटबल टिम ।

२०१० देखि बंगलादेशको महिला फुटबलको नेतृत्व सम्हालेका प्रशिक्षक गोलाम रोब्बान छोटोनकै नेतृत्वमा त्यहाँको महिला टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो उपाधि जित्यो । उमेर समूहका प्राय सबैखाले प्रतियोगिता जितिसकेको बंगलादेशले महिला फुटबलको ग्रासरुट पूर्वाधार र एक्सपोजरमा कति लगानी गरेको थियो भन्ने खेलले नै बताउँथ्यो ।

नेपाल आउनुअघि उनीहरु ८ महिना लामो बन्द प्रशिक्षणमा थिए । जबकि नेपालले मुस्किलले सात साता क्याम्पमा बितायो । प्रशिक्षक कुमार थापा नेपाली फुटबलका अब्बल प्रशिक्षकमा गनिन्छन् । अनिता बस्नेत , सावित्रा भण्डारी, सरु लिम्बु , एन्जिला तुम्बाप्पो सुब्बा लगायतका खेलाडी नेपाली टिमका प्रमुख खेलाडी हुन् ।

कागजमा टिम बलियो देखिन्थ्यो । तर छोटो समयको तयारीले उपाधि जितिन्छ भन्ने पुरानो मानिसिकताले यस पटक पनि नेपाललाई उपाधि उचाल्नबाट रोक्यो । भारतलाई एक शुन्य गोलले हराउँदै फाइनलमा प्रवेश गरेको नेपालले बंगलादेशसँग ऐतिहासिक पराजय ब्येहोर्‍यो।

अघिल्लो वर्षमात्रै अण्डर नाइन्टीन जितेको बंगलादेशका अधिकांश खेलाडीका अगाडि नेपालको केही चलेन । लगानी गरेको १२ वर्षपछि बंगलादेशले महिला फुटबलको अहिलेसम्मकै ठूलो उपाधि हात पार्‍यो ।

बंगलादेश सरकारले महिला फुटबललाई दिएको प्राथमिकताको उपज पनि हो यो । नेपालमा महिला र पुरुष फुटबलमा विभेद त छँदै छ, घरेलु लिगको पनि टुंगो हुँदैन । उमेर समूहका प्रतियोगिता शुन्य प्रायः छ ।

खुला छनोटबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने टिम बनाउनुपर्ने बिडम्बना छ । न बलिया मुलुकसँग मैत्रीपूर्ण खेल भयो न भरपर्दो अभ्यास नै ।

नेपाली टोलीलाई आफ्नै मैदान पनि बिरानो भयो । यति ठूलो प्रतियोगिताका लागि मात्रै दुई पटक दशरथ रंगशालामा अभ्यास शत्र भए । उपबिजेता छबि बदल्न एन्फा पनि गम्भीर भएर लागेको देखिन्न ।

भारतले युरोपेली फुटबलमा आफ्नो पहुँच बढाउँदा बंगलादेशले एसियाली प्रतिस्पर्धामा अब्बल हुने सपना देखिरहेको छ । अब पनि महिला फुटबलमा पर्याप्त लगानी नगरे नेपाली फुटबल दक्षिण एसियाली प्रतिस्पर्धामै फाइनलमा पुग्न मुश्किल छ ।