११ बैशाख २०८१, मंगलवार

राष्ट्रियसभा सदस्यको नयाँ नक्साअनुसार लोगो फेर्ने निर्णय

Rastiya sabha karyabyabastha

राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो नयाँ नक्साअनुसार परिमार्जन हुने भएको छ ।

राष्ट्रियसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्ष कार्यकक्षमा आज बैठक बसेको थियो ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, संघीय संसदका दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने पनि निर्णय भएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम सदस्यको पोसाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ।

हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र छुटेको छ । राष्ट्रियसभाले संघीय ससदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभाको बैठक जेठ १२ गतेका लागि तोकिएकामा त्यस दिन मुस्लिम समुदायको इदुल फित्र चाड पर्काले जेठ १३ गतेका लागि तोकिएको छ ।