८ बैशाख २०८१, शनिबार

अमेरिकी चासो बढ्दो आर्मेनिया अजरबैजान द्वन्द्वप्रति

armenia azerbaijan

अमेरिकी तल्लो सदनकी सभामुख  न्यान्सी पेलोसीले आइतवार आर्मेनियामा अजरबैजानले गरेको ‘गैरकानूनी’ हमलाको निन्दा गरेकी छिन् ।

यसै साता सीमामा दुुई देशबीच भएको झडपमा दुुई सयभन्दा बढी मानिसको निधन भएको छ र दुुबै देशले आक्रमणको दोष  एक अर्कालाई लगाएका छन् । पछिल्लो द्वन्द्व सन् २०२० पछिकै खराब बताइएको छ ।

‘अमेरिकी कांग्रेसको तर्फबाट हामी ती आक्रमणहरूको कडा निन्दा गर्छौं, जसले अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पारेको छ,’ पेलोसीले अर्मेनियाको राजधानी यरेभानमा सञ्चारकर्मीलाई भनिन् ।

‘अजरबैजानले आर्मेनियाली भूमिमा गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित भएको छ । हाम्रा लागि आर्मेनियाले विशेष महत्व राख्छ’, पेलोसीले भनिन् ।

उक्त हमला आर्मेनियाको सार्वभौमसत्तामाथि भएको अमेरिकाले ठहर गरेको छ । यसअघि युद्धविरामका लागि रुसले मध्यस्थता गर्ने प्रयास विफल भएको थियो ।

आक्रमणपछि अमेरिकी विदेशमन्त्रीले आर्मेनियाका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए ।