१५ चैत्र २०८०, बिहीबार

नेपालविरुद्ध खनिदै आएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश

arnab goswami

सीमा विवादका विषयमा नेपाल र नेपालीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका भारतका पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ। भारतमै सामाजिक सद्भाव बिथोलेको आरोपमा उनीविरुद्ध भारतीय प्रहरीले नै मुद्दा चलाउन लागेको हो।

केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

यसले के देखाएको छ भने उनी सीमा विवादका विषयमा छिमेकी देशप्रति मात्रै होइन सामाजिक सदभाव खलबल्याउने गरी टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने गरेका रहेछन्।

पत्रकार गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरीले आफूलाई समात्ने देखेपछि उनले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । त्यस्तै, गोस्वामीले केही समयअघि भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरुद्ध पनि लगातार प्रहार गरेका थिए । उनले सोनियामाथि पालगार भन्ने स्थानमा भएको सामूहिक संहारको घटनामा विना प्रमाण मुछेका थिए । उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको छ ।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उक्त टेलिभिजनका उनी मालिक र प्रधान सम्पादक समेत हुन् । त्यसैले उनले काँग्रेस आई र मुसलमानहरुविरुद्ध कटाक्ष गर्दै आएका छन् ।

उनले महाराष्ट्रमा भन्दा पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआइ)ले आफ्नो मुद्धा हेरे केन्द्र सरकार र भाजपाको प्रत्यक्ष प्रभावमा पारेर खारेज गर्न सकिने रणनीति अप्नाएको बताइन्छ । किनभने महाराष्ट्रमा भाजपाको एकल सरकार छैन । त्यहाँ लामो समयदेखि शिवसेनाको प्रभाव रहेको छ ।

पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालकाे पनि चर्काचर्की भएको थियो। नेपालको नयाँ नक्सा, कालिपानी र लिम्पियाधुराका विषयमा काँग्रेस नेता डा. मिनेन्द्र रिजालसँग समेत चर्काचर्की भएको थियो ।

    सम्बन्धित समाचार...