१२ बैशाख २०८१, बुधबार

स्वर्णीम दिन बन्ला त नेपाली फुटवलका लागि असोज ३ ? इतिहास रच्ने अवसर नेपाली महिला फुटबल टोलीलाई

307579045 388834840075674 4896254019798810685 n

भनिन्छ, अवसर एक पटक आउँछ । तर महिला साफ च्याम्पियनसिपमा नेपालले पटक–पटक मौका पाएर पनि सदुपयोग गर्न सकेको छैन ।

दक्षिण एसियालीस्तरको यो प्रतियोगिताको उपाधी महिला टिमको मात्र नभएर पुरै नेपाली फुटबलको सपना हो । बारम्बार बाधक बनेको भारतलाई पन्छाएको नेपाल इतिहास रच्नबाट मात्र एक जितले पछि छ । फाइनलमा बंगलादेशविरुद्ध उत्रँदा देश ऐतिहासिक क्षणको प्रतीक्षामा हुनेछ ।

राष्ट्रिय महिला टिमले सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको हो । १९९९ सम्म अन्तर्राष्ट्रियस्तरमा नेपाल निरन्तर सहभागी भयो । तर नतिजा अपेक्षाकृत नआएपछि अखिल नेपाल फुटवल संघ एन्फाले महिला फुटवललाई प्राथमिकता राख्नै छोड्यो ।

करिब ११ वर्षपछि अर्थात् २०१० मा ढाकामा भएको प्रतियोगितामा बंगलादेशलाई हराउँदै नेपाली महिला फुटबलको नयाँ पुस्ताले पुनरागमन गरेको थियो । संयोगनै मान्नुपर्छ १२ वर्षदेखिको अधुरो सपना पुरा गर्ने हो भने नेपालले बंगलादेशको चुनौती पन्छाउनु पर्नेछ ।

दक्षिण एसियाभन्दा माथि जान नसकेको नेपालले साफ च्याम्पियनसिपको उपाधी जित्न सकेको छैन । पुरुष टिम २८ वर्षको साफ इतिहासमा मात्र एक पटक फाइनल पुगेको छ ।

लगानी र एक्सपोजरमा पनि विभेद सहँदै आएको महिला टिमले बंगलादेशलाई हराए उपाधी मात्र जित्ने छैन । महिला फुटवलप्रति हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नेछ ।

महिला साफमा नेपालले बंगलादेशसँग अहिलेसम्म हारेको छैन । यसअघिका ८ प्रतिस्पर्धात्मक भेटमा ६ मा जित र दुई बराबरी खेलेको थियो । एउटा उपाधी नेपाली महिला फुटवलको टर्निङ पोइन्ट हुन सक्छ ।

साफको उपाधीले नेपाललाई दक्षिण एसियाली क्षेत्रभन्दा माथिल्लो स्तरमा पुग्न प्रेरित गर्नेछ । के नेपाली फुटवलका लागि असोज ३ गते स्वर्णीम दिन बन्ला त ?