१३ बैशाख २०८१, बिहीबार

टुकुचा खोला अतिक्रमणमुक्त गर्दै काठमाडौं महानगर

images cms image tukuja

राणाकालदेखि नै अतिक्रमणमा पर्न थालेको थियो काठमाडौंको मध्यभागस्थित टुकुचा खोला । नेपाल भाषामा तुखुचा र संस्कृतमा इच्छुमति भनिने टुकुचा शहरीकरण तीव्र भएसागै गायब हुादै गयो ।

यसबीचका उत्खनन प्रयासले सार्थकता पाएनन् । अहिले काठमाडौं महानगरले जय नेपाल हलको कम्पाउण्ड खनेर टुकुचाको अवशेष त निकालेको छ । तर टुकुचामाथि बनेका दर्जनौं निजी तथा व्यवसायिक भवन हटाउने चुनौती महानगरलाई छ ।

चक्रपथ धुम्बाराही क्षेत्रबाट सुरु भएको टुकुचा थापाथली कालमोचनमा पुगेर बागमतीमा मिसिन्छ । करिब ५ किलोमिटर लामो टुकुचालाई लाजिम्पाट, बालुवाटार क्षेत्रमा ढलानले छोपेर सडकमा परिणत गरिएको छ ।

जयनेपाल सिनेमा हलदेखि काठमाडौं प्लाजासम्मको ४ सय ४० मिटर क्षेत्रमा दर्जनौं व्यावसायिक भवन तथा संरचनाले टुकुचाको अस्तित्व नै देखिँदैन ।

काठमाडौं प्लाजापछि टुकुचा खोल्सोको रुपमा प्रदर्शनीमार्गको खसी बजार हुँदै अगाडी बढ्छ । त्यसभन्दा तल रामशाहपथको साल्ट ट्रेडिङ, बाणिज्य बैंक हुँदै थापाथलीमा पुगेर बागमतीमा मिसिन्छ । दशकौंदेखि गायब बनाइएको टुकुचा ब्युँताउने प्रयास पहिलोपटक महानगरले २०६६ मा थालेको थियो ।

२०७६ मा पुनः चासो देखायो । तर दुवैपटक औपचारिकतामा मात्र सीमित भए। तर १२ साउन २०७९ मा काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । टुकुचा उत्खननको प्रयास थाले पनि त्यसमाथि बनाइएका दर्जनौं व्यावसायिक संरचना हटाउन महानगरलाई सहज भने छैन ।

महानगरले दुई वर्षअघिको अध्ययन प्रतिवेदनकै आधारमा टुकुचालाई अतिक्रमणमुक्त गर्ने तयारी गरेको छ । काठमाडौंमा बस्ती बाक्लिएसँगै यहाँको नदीप्रणालीमा टुकुचाजस्तै तिलगंगा, सामाखुसी, बानेश्वर लगायतका क्षेत्रका खोल्सा मासिएको अवस्थामा टुकुचालाई पुरानै बहाबमा पुनःस्थापित गर्नु कम चुनौतीपूर्ण छैन ।

टुकुचामात्रै होइन, काठमाडौंका हरेक नदी तथा खोला मानव अतिक्रमणमा परेका छन् । यस्तोमा काठमाडौं महानगरले थालेको पहल नदी संरक्षणका लागि महत्वपूर्ण कदम मान्न सकिन्छ ।