१५ चैत्र २०८०, बिहीबार

संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु पर्यो: : प्रचण्ड

pracanda

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल भएनको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताए ।

उनले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध व्यहोर्नु परेको बताए । सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो ।

यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उनले बताए । ओलीले संसदमा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछकी के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधान हामीले नै बनाएका होइनौं र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद र नेपाली जनता भेँडा हुन र ?’

उनले अहिलेको सरकारले संविधान जोगाएको पनि बताए । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ?’ उनको प्रतिप्रश्न छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद विघटन गरेको पनि बताए । उनले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद विघटनमा लागेको बताए ।

उनले परमादेशको सन्दर्भ र संसदमा जारी सुनुवाईअनुसार यो सरकार जनताको दबाब, संविधान र संसदको बहुमतबाट बनेको प्रष्ट भएको उनको भनाइ छ । बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाईबाट पुष्टि भएको उनले बताए ।

अन्तिममा उनले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताए । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दावी गरे । यस्तै बाँकी तपाई (ओली)ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौला ।