१५ चैत्र २०८०, बिहीबार

रश्मीकुमारी घिसिङको निर्णायक गोलसँगै नेपाल फाइनलमा

nep vs ind 11 1692022025233 1000x0 1

चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।

त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।

३३ अ‍ौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन । रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् ।

४२ अ‍ौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । इन्ज्युरी समयमा नेपालले गोल गर्दै अग्रता लिन‌ सफल भयो ।

दोस्रो हाफको ५० अ‍ौं मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैसीको हेडर गोलरक्षक अदितिले बचाइन् । लगत्तै अर्को कर्नरमा आएको रिबाउन्डका प्रितिको प्रहार पोस्टमा लागेर फर्कियो ।

५७ अ‍ौं मिनेटमा रश्मीको प्रहार फितलो रहँदा गोलरक्षक अदितिले सहजै बचाइन् । लगत्तै रश्मीको अर्को प्रहार अदितिले दोस्रो प्रयासमा बचाइन् ।

६४ अ‍ौं मिनेटमा प्रिती राईको एकल प्रयास सफल हुन् सकेन । उनले दुई डिफेन्डरको चुनौती चिर्दै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

७६ अ‍ौं मिनेटमा सौम्याको प्रहारलाई गोलरक्षक एन्जिलाले बचाइन् । ८३ अ‍ौं मिनेटमा सौम्याको क्रसमा ६ यार्ड बक्सभित्र बल क्लियर नहुँदा भारतले गोल फर्काउने अवसर पाएको थियो । तर नेपाली डिफेन्सले दोस्रो प्रयासमा बल क्लियर गर्दै खतरा टार्यो ।

यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८-० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

nep vs ind 11 1692022025233 1000x0 1