१२ बैशाख २०८१, बुधबार

उपाधि नजिक पुग्नेमा नेपाली टोली विश्वस्त

saff 1 scaled 1

साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गर्न नसक्दा चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । एक पटक भारतसँगै सेमिफाइनलमा रोकियो ।

घरेलु मैदानमा अहिले साफको छैठौं संस्करण जारी छ र यो पटक नेपाल र भारत सेमिफाइनलमै आमने-सामने हुँदैछन् । यस पटक नेपालको उपाधि यात्रामा भारत बाधक नबन्ने विश्वास खेलाडीको छ ।

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा शुक्रबार घरेलु टोली नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बीको विजेता र भारत समूह ए को उपविजेता हुन् । समूह चरणमा नेपालले भुटानलाई चार-शून्य र श्रीलंकालाई ६-० गोलले हराएको थियो ।

भारत भने साफको इतिहासमै पहिलो पटक बंगलादेशसँग पराजित भयो । तर पाकिस्तानलाई ३-० र माल्दिभ्सलाई ९-० ले हराएको भारत बंगलादेशसँग ३-० ले पराजित हुँदा पनि सेमिफाइन पुग्यो । उपाधी जित्ने लक्ष्य राखेको नेपालले सेमिफाइनलमा साविक विजेता भारतलाई पन्छाउन सहज भने छैन ।

पहिलो पटक राष्ट्रिय टिमको कप्तानी गरिरहेकी गोलकिपर एन्जिला तुम्बापो अघिल्ला दुई खेलमा फुर्सदिली बनेकी थिइन् । नेपालले दुई खेलमा १० गोल गर्दा एक पनि खाएन । यसले नेपालको डिफेन्स सुधारिएको देखिए पनि पुष्टि हुन भारतसँगको खेल कुर्नुपर्ने छ ।

नेपाली टोलीमा अनुभवी र नयाँ दुवै खेलाडी छन् । पुरानाको अनुभव र नयाँको जोसले खेलाडीमा आत्मविश्वास बढेको देखिन्छ ।

त्यसो त नेपाली टोलीमा गोल मेसिनका रुपमा परिचित सावित्रा भण्डारीलाई डेंगी भएपछि भारतविरुद्ध खेल्ने नखेल्ने टुंगो लागेको छैन ।

सन् २०१६ मा भारतसाग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिँदा कुमार थापा नै नेपालको प्रशिक्षक थिए । यस पटक पनि नेपालको भेट भारतसाग सेमिफाइनलमै भएको छ र प्रशिक्षक उनै थापा छन् । सेमिफाइनलमा भारतको वर्चश्व तोड्न सके नेपालले उपाधीका लागि भुटान वा बंगलादेश मध्ये एकसँग खेल्नेछ ।