१६ चैत्र २०८०, शुक्रबार

चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत, रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि

rastra bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको जनाएको छ । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ ।

२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ । 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ । 

गत साउन महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । 

२०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि, साउनमा भित्रियो ९२ अर्ब २१ करोड

चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।