१५ चैत्र २०८०, बिहीबार

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको अहिलेको भ्रमण के मा केन्द्रीत ?

li

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु ४ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिए लगत्तैदेखि भेटघाटमा सक्रिय रहे ।

सभामुखको औपचारिक निमन्त्रणामा आएका अध्यक्ष लीले संसदमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै राष्ट्रपति, प्रधानमन्त्री र शीर्षस्थ राजनीतिक दलका नेतालाई भेटेर यसअघि जस्तै चीनविरुद्ध नेपालमा कुनै गतिविधि नहोस् भन्ने सन्देश दिए ।

अमेरिकाको एमसीसी परियोजना संसद्बाट पास भएपछि चीनले नेपालसँग सुरक्षाका विषयमा प्रतिबद्धता खोजेको देखिन्छ । खासगरी तिब्बततर्फको सुरक्षालाई लिएर चीनले नेपाललाई बढी प्राथमिकता दिएकै कारण उच्चस्तरीय भ्रमण हुने गरेको मूल्यांकन दलहरुले गरेका छन् ।

त्यसो त नेपालले तिब्बत र ताइवान चीनको भूमि हुन् भन्ने मान्यतासहित ‘एक चीन नीति’ अँगाल्दै आएको छ । नेपाली उच्चस्तरीय टोली चीन जाँदा होस् या चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्दा, नेपालले सधैँ एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै आएको छ ।

तर पछिल्लो समय अमेरिकासहितका पश्चिमा मुलुकको सक्रियता बढेकाले जम्बो टोलीसहित उच्चस्तरीय भ्रमण गरेर अप्रत्यक्ष दबाब सिर्जना गरेको जानकारको बुझाई छ ।

नेपालमा शक्ति राष्ट्रका प्रतिनिधिमण्डलको आवतजावत बढिरहेको छ । खासगरी अमेरिका र चीनबाट एकपछि अर्को भ्रमण भइरहेका छन् ।

राजनीतिक, कूटनीतिक, सैन्य एवम् संसदीय प्रतिनिधिको बाक्लिएको आवतजावतलाई नेपालले कूटनीतिक र सन्तुलित ढंगबाट आफ्नो पक्षमा पार्न सक्नुपर्छ ।