१२ बैशाख २०८१, बुधबार

अन्य दलसँग तालमेलको रणनीतिमा एमाले

uml 1 1

प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनमा भएका बाहेक अरु दलहरुसँग तालमेलको रणनीति अघि बढाएको छ ।

एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दल सहकार्यको नजिक छन् ।

पाँच दलीय सत्ता गठबन्धनमा सिटबाँडफाँटको रस्साकस्सी चलिरहेको बेला प्रमुख प्रतिपक्षी एमालेले सत्तामा नभएका दलहरुसँग गठबन्धन गर्ने तयारी गरेको हो।

लोसपा र राप्रपा तथा स्थानीय जनमत अनुसार अरु केही दलसँग मिलेर गठबन्धनलाई टक्कर दिने एमालेको रणनीति छ । तराई मधेशमा सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशिल पार्टीसँग पनि चुनावी तालमेलको कुरा अघि बढाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा झरेको एमालेलाई यसपटक गठबन्धन गरेर जानुपर्ने दबाब छ । सत्ता गठबन्धनमा नजोडिएका अरु दललाई पनि चुनाव जित्न एमालेको साथ चाहिएको छ ।

केही समय अगाडि सत्ता गठबन्धनमा जान खोजेको लोसपाले पछिल्लो एमालेसँग सहकार्यको बाटो रोजेको छ । सहमति खोज्न एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र लोसपाबाट नेता सर्वेन्द्रनाथ शुक्ल रहेको कार्यदल नै बनाइएको छ ।

विपक्षी गठवन्धनमा एमालेको दाउ धेरै सिट जित्ने हो । अरु दलको भने आफ्नो अस्तित्व जोगाउने भन्नेमै ध्यान देखिन्छ ।