८ बैशाख २०८१, शनिबार

विश्वमै उत्कृष्ट मानिएका नेपालका पदमार्ग जथाभावी खनिएका सडकका कारण मासिँदै

mountaineering in nepal

नेपाल आउने पर्यटकको मुख्य आकर्षण हिमाल र पदमार्ग हो । तर विना अध्ययन जताततै खनिएका सडकका कारण पदमार्ग मासिँदैगएका छन् । भएका पदमार्ग पनि छोटिएका छन् भने मौलिकतामा समेत ह्रास आएको छ ।

यही कारण पर्यटकको बसाई अवधि छोटिएको छ भने दोहोरिएर पनि आउन छाडेका छन् । पदमार्ग मासिँदा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको व्यवसायी बताउछन् ।

सडक खन्ने प्रतिस्पर्धाले विश्वचर्चित अन्नपूर्ण सर्किट विश्वकै १० उत्कृष्ट पदमार्गको सूचीबाटै बाहिरिएको छ । अन्नपूर्ण सर्किटको २१ दिनको पदयात्रा छोटिएर एक सातामा सीमित भएको छ ।

यस्तै, मनास्लु, हेलम्बु, कञ्चनजंघा तथा जिरीदेखि सगरमाथासम्मको पदमार्गसहित लामो र छोटो दुरीका थुप्रै पदमार्ग मासिने तथा छोटिने क्रम बढ्दो छ । पदमार्गलाई असर नपुर्‍याउने गरि पूर्वाधार गर्नुपर्ने आवाज उठाउँदासमेत सरकारले बेवास्ता गरेको व्यवसायीको गुनासो छ ।

सीमित व्यक्तिलाई फाइदा हुनेगरी भैरहेको डोजरे विकासले एकातिर भू-क्षय निम्त्याइरहेको छ भने अर्कोतिर वन्यजन्तु तथा चराचुरुङ्गीलगायत जैविक विविधतामा समेत असर पारिरहेको छ । पदमार्ग भएका क्षेत्रमा सडक निर्माण गर्दा सरकारले दीर्घकालिन सोच राख्नुपर्ने पर्यटन बोर्डको भनाइ छ ।

भएका पदमार्ग नासिादै गएपछि विकल्पका रुपमा पर्यटन बोर्डले कञ्चनजंघा, अपी साइपालजस्ता कम जनघनत्व भएका क्षेत्रमा नयाा पदमार्ग खोजी गरिरहेको छ ।

वाषिर्क रुपमा नेपाल आउने कुल पर्यटकमा ४० प्रतिशत पदयात्रामा जाने गरेका छन् । तर नेपालका २ सयभन्दा बढी पदमार्गमध्ये २० प्रतिशत सडक बिस्तारका कारण नासिने अवस्थामा छन् ।

पदयात्रा पर्यटनमा एक सिजनमा १५ हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । नेपाललाई विश्वमाझ चिनाउने यस्ता पदमार्ग जोगाउन स्थानीय र केन्द्र सरकार दुवै गम्भीर हुनु आवश्यक छ ।