१२ बैशाख २०८१, बुधबार

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

Coronavirus 1

थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हटौँडामा गरिएको परीक्षणमा बारा सिम्रौनगढ नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।