१३ बैशाख २०८१, बिहीबार

अनुसन्धान तीव्र पारेको प्रहरीले जबर्जस्ती करणीका आरोपी सन्दीप लामिछानेविरुद्ध प्रमाण भेटेको दाबी

sandip lamichhane

बालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

लामिछानेविरुद्ध गौशाला वृत्तमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय काठमाडौं र गौशाला वृत्तले अनुसन्धान अघि बढाएका हुन् । उता नेपाल क्रिकेट संघ क्यानले भने प्रहरीको अनुसन्धानपछि मात्रै लामिछानेका बारेमा थप निर्णय लिने जनाएको छ ।

अरु बेला भएको भए नेपाली राष्ट्रिय क्रिकेट टोली केन्याविरुद्धको टि-ट्वेन्टी अन्तर्राष्ट्रिय र एकदिवसीय सिरिज जितेर घर र्फकदा खुसी मनाइरहेका हुन्थे । तर बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा खेलाडी स्तब्ध थिए । किनकी आफ्नै कप्तानविरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोपको खबर फैलिसकेको थियो ।

सन्दीप यतिखेर क्यारेवियन पि्रमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनले आफूमाथि लागेको आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर प्रहरीले आरोपका विषयमा गहिरो अनुसन्धान अघि बढाएको छ ।

सन्दिप केन्या जानु एक दिन अघि अर्थात् यही भदौ ५ गते गौशालास्थित एक होटलमा १७ वषिर्या बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

आफ्ना खेलाडीमाथि गम्भीर आरोप लागेपछि क्रिकेट संघ क्यान बुधबार दिनभर छलफलमा व्यस्त रहृयो । सााझ बैठक गरेको क्यानले प्रहरीको अनुसन्धान हेरेर मात्र सन्दिपका बारे निर्णय लिने जनाएको छ ।

प्रहरीले भने प्रारम्भिक चरणको अनुसन्धानमा बालिकाले लगाएको आरोप पुष्टि गर्ने प्रमाण फेला परेको जनाएको छ । घटनाका दिन सन्दिप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थिए । भोलिपल्टै टिम केन्या जाादै थियो । यस्तोमा सन्दिपले कसरी आफ्नो क्याम्पबाट बाहिर निस्कने छुट पाए त ? व्यवस्थापनमाथि पनि प्रश्न उठेको छ ।

लामिछाने भदौ ५ गते बेलुका अबेर सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ ।

पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार उनीहरू करीब ७ घण्टा होटलमा बसेर फर्किएका थिए । भदौ ६ गते बिहान ६:४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको हो ।

प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ । अहिले प्रमाणहरू संकलन गरेर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी भइरहेको छ ।

पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले जनाकारी दिए ।

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटलको कोठा नम्बर ३०५ मा लगी रातभर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

प्रहरीका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती गरेको विवरण जाहेरीमा उल्लेख छ ।

सन्दिप अहिले नेपाल बाहिर छन् । उनलाई जति सक्दो छिटो स्वदेश फर्किएर अनुसन्धानमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

सन्दिपमाथिको आरोप पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । यो पुष्टि भएमा सन्दीपलाई मात्र होइन, नेपाली खेलकुदलाई नै धक्का लाग्ने छ ।