७ बैशाख २०८१, शुक्रबार

आफ्नो दललाई गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार : अध्यक्ष यादव

उपेन्द्र यादव कार्यक्रम

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दललाई गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताउनु भएको छ ।

वीरगन्जमा आज सम्पन्न जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले हैसियत अनुसार सिट बाँडफाँड नगरिए एक्लै चुनावमा जानु पर्ने हुँदा त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । आफूहरू गठबन्धनको विरोधी नभएको बताउँदै उहाँले अहिलेको गठबन्धनलाई निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको दाबी गर्नु भयो ।

अध्यक्ष यादवले आगामी निर्वाचनमा सङ्घीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाई जसरी भएपनि परास्त गर्नु पर्छ भन्नु हुँदै त्यसका लागि पनि गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

आगामी निर्वाचनमा सङ्घीयता र गणतन्त्रका पक्षधरहरू पराजित भए प्रतिगमनकारी शक्तिले सङ्घीयता र लोकतन्त्रलाई समाप्त पार्ने र मधेस फेरि गुलाम बन्ने खतरा रहेको यादवले जिकिर गर्नुभयो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाई सांसद हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा, बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रिय सदस्य करिमा बेगम, सलमा खातुन ,जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतले सम्बोधन गर्नु भएको थियो ।