१३ बैशाख २०८१, बिहीबार

महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

house
फाइल फोटो

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१ प्रतिशत मात्र नतिजा आएको उल्लेख गर्दै सबैको तलब बढ्दा विद्यालयका कर्मचारीको तलब पनि बढ्नुपर्ने माग गर्नुभयो ।

सांसद नरमाया ढकाल र सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको धारणा राख्नुभयो ।

सांसद नवराज सिलवालले नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा हुने गरेको अस्तव्यस्त र गैरकानुनी क्रियाकलाप रोक्नुपर्ने माग गर्दै भिजिट भिसाका कारण मानव तस्कर बढ्दै गएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पद्यमनारायण चौधरीले भू उपयोग नीति अवलम्बन गरेको हुनाले जग्गाको कित्ताकाट गर्न नसक्दा किसान मारमा परेको हुँदा कित्ताकाट गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने सुझाव दिनुभयो ।

सांसद पार्वतीकुमारी विसङखेले संविधानअनुसार गठन गरिएको राष्ट्रिय समावेशी आयोगले तयार पारेको प्रतिवेदनमा आरक्षण नै आवश्यक छैन भन्ने पूर्वाग्रही प्रतिवेदन सार्वजनिक गरेको उल्लेख गर्दे उक्त सुझाव दिने र प्रतिवेदन निकाल्ने पदाधिकारीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद पुष्पकुमारी कर्णले सांसदले समसामयिक विषयमा शून्य समय र विशेष समयमा उठेका विषयको पाँच दिनभित्र सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने तर त्यो हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

सांसद प्रमिला राईले समावेशी र समानुपातिकको प्रावधान भए पनि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा महिलाको नाम सिफारिस भएको नदेखिएकोप्रति दुःख व्यक्त गर्दै प्रत्यक्ष तथा समानुपातिकमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थालाई नकार्न नमिल्ने बताउनुभयो ।