भारी वृद्धि स्थायी आप्रवासीको कोटा अस्ट्रेलियाद्धारा

अस्ट्रेलियाले स्थायी आप्रवासनका लागि विदेशीका लागि छुट्याइएको कोटामा भारी वृद्धि गरेको छ ।
श्रमशक्तिमा ठूलो कमी आएसँगै अस्ट्रेलियाले विदेशी आप्रवासीका लागि छुट्याइएको कोटा ३५ हजार बाट बढाएर १ लाख ९५ हजार पुर्याएको छ । सन् २०२३ को जुन महिना अघिसम्मका लागि यो कोटा मान्य रहने जनाइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले करिब एक साता अघि भएको रोजगार एवम् सीप सम्मेलन मार्फत व्यवसायिक सीप सिकाईका लागि आउँदो वर्ष १ लाख ८० हजार कोटा खाली हुने जनाएका थिए ।
सम्मेलनमा त्यहाँकी गृहमन्त्री क्लेर ओ नीलले अस्ट्रेलियामा कामदारको अभावमा नर्सले दैनिक २-३ सिफ्टसम्म काम गर्नुपरेको, ग्राउन्ड स्टाफ नहुँदा उडान रद्द गर्नुपरेको, फलफुल बोटमै कुहिन थालेको जस्ता समस्या देखा परेको औल्याएका थिए । उनले उत्कृष्ट विद्यार्थीहरु क्यानडा, जर्मनी, बेलायत जस्ता मुलुक छाडेर अस्ट्रेलिया आउन थालेको पनि जिकिर गरे ।
अस्ट्रेलियाले कोरोना महामारीका २० महिनामा निकै कडा आवागमन प्रतिबन्धहरु लगाउँदा त्यहाँ कामदारको निकै चर्को अभाव भएको छ । त्यहाँ हाल बेरोजगारी ५० वर्ष यताकै न्यून दरमा पुगेको छ भने करिब साढे ४ लाख जागिरका पदहरु रिक्त रहेका छन् ।
अस्ट्रेलियामा विदेशी मूलका मानिसको सङ्ख्या बढ्दै
सन् २०२१ मा गरिएको जनगणनाअनुसार अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ५५ लाख पुगेको छ।
पहिलो पटक अस्ट्रेलियामा आधाभन्दा बढी जनसङ्ख्या विदेशमा जन्मिएका वा आमाबाबु विदेशमा जन्मिएका व्यक्तिको भएको खुलेको छ।
त्यो सन् २०१६ को तुलनामा २१ लाख बढी हो। त्यहाँको जनसङ्ख्याको औसत आयमा केही वृद्धि भएको छ।
आधुनिक अस्ट्रेलियालाई आप्रवासीहरूले बनाएको देश भनेर चिनिन्छ।
गत वर्ष गरिएको जनगणनाले देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी मानिस विदेशी मूलका भएको देखाउँछ।
महामारीका बेलामा अस्ट्रेलियामा आउने आप्रवासीहरूको सङ्ख्या घट्यो। तर सन् २०१६ यता मात्र अस्ट्रेलियामा १० लाख मानिसहरू बसाइँ सरेका थिए। त्यसमध्ये एकचौथाइ मानिस भारतका हुन्।
अहिले अस्ट्रेलियामा पाँचमध्ये एक व्यक्तिले घरमा अङ्ग्रेजीबाहेक अर्को भाषा बोल्ने गर्छन्।
अरू तथ्याङ्क
गत वर्षको जनगणनामा आफूलाई आदिवासी समुदायको बताउने मानिसको सङ्ख्या अघिल्लो गणनाको भन्दा बढी देखिएको छ। अहिले आदिवासी मूलका मानिसको सङ्ख्या आठ लाखभन्दा बढी अर्थात् कुल जनसङ्ख्याको ३.२ प्रतिशत जति छ।
अस्ट्रेलियाको तथ्याङ्क विभागका अनुसार इसाई धर्म मान्ने मानिसको सङ्ख्या अहिले ४४ प्रतिशत जति छ। पाँच दशकअघि कुल जनसङ्ख्याको ९० प्रतिशतले उक्त धर्म मान्थ्यो।
हिन्दू र इस्लाम धर्मका अनुयायीको सङ्ख्या तीव्र गतिमा बढिरहेको देखिन्छ। तर तिनको कुल सङ्ख्या तीन-तीन प्रतिशत मात्र छ। बरु कुनै धर्म नमान्ने मानिसको सङ्ख्या ९ प्रतिशतले बढेर ३९ प्रतिशत पुगेको छ।