७ बैशाख २०८१, शुक्रबार

प्रहरीको विज्ञप्ति सन्दीप लामिछाने प्रकरणमा: होटलको कोठा नम्बर ३०५ मा पटक-पटक करणी

Sandeep Lamichhane

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ ।

परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको उल्लेख छ।

प्रहरीको विज्ञप्ति
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी (जजक) कसुरमा प्रहरी वृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी:

गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जी. स्याङ्जा आरुचौर गा.पा. स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ न.पा. बस्ने अं. ५’७” उचाइ, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अं. २३:५५ बजे का.जी.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९। ०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।

पक्राउ पुर्जी जारि गर्न अनुमाती माग्दै प्रहरी

१७ बर्षीय बालिकालाई बलत्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्ने तयारी प्रहरीले गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार अहिले प्रहरीले प्रमाणहरु संकलन गरिरहेको र पक्राउको लागि अदालतमा अनुमति माग्ने तयारी भइरहेको बताए ।

‘अहिले अहिले प्रकृयामा छौं,’ एसएसपी बोहोराले लोकान्तरसँग भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ काठमाडौं प्रहरी परिसर र प्रहरी वृत गौशालाको टोलीले अहिले घटना भएको भनिएको होटलहरुको सीसीटीभी फुटेज संकलन लागि खटिएको एसएसपी बोहोराले बताए ।