१५ चैत्र २०८०, बिहीबार

नेतृत्व दाबेदारका योजना के छन् त भलिबल विकासका लागि ?

voll

नेपाल भलिबल संघको साधारणसभा आज हुँदैछ । राष्ट्रिय खेल भलिबलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

आफ्नै कबर्ड हलसमेत नभएको राष्ट्रिय खेल भलिबलको विकासका लागि कयौं चुनौती छन् । सम्भावना भएर पनि व्यवसायिक बन्न नसकेको भलिबलको विकासका लागि नेतृत्व दाबेदारका योजना के छन् त ?

नेपाल भलिबल संघको अध्यक्षका प्रत्यासी निरोज मास्के र जितेन्द्रबहादुर चन्द दुबैमा जिम्मेवार पदमा बसेर काम गरिसकेको अनुभव छ । सम्भावना र योजना हुँदाहुँदै पनि अहिलेको कार्यसमितिले लामो फर्म्याटका प्रतियोगिता भने गर्न सकेन ।

कोभिडका कारण महिला र पुरुष राष्ट्रिय टोलीले पर्याप्त एक्सपोजर पाएनन् भने उमेर समूहका प्रतियोगिता निकै कम भए । कार्यसमितिमा रहेर काम गरिरहेकाहरु नै अब नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुका एजेन्डा प्रायः समान नै देखिन्छन् ।

मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको पक्षबाट रोशनकुमार श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका छन् । ७७ जिल्लामै भलिबल संघको शाखा भए पनि खेल संरचना निकै कमजोर छ ।

खेलाडीलाई व्यवसायिक बनाउने विषय अहिलेसम्म प्राथमिकतामा परेको छैन । जुनसुकै भौगोलिक क्षेत्रमा समेत खेल्न सकिने साढे चार दशकको इतिहास बोकेको भलिबलका समस्या समाधान गर्नु आगामी नेतृत्वको चुनौती हो ।

७७ जिल्लाका पदाधिकारी, रेफ्रि कमिस्नर, महिला र पुरुष राष्ट्रिय टिमका कप्तान, न्यु डायमन्ड, जावालाखेल तथा ढोरपाटन स्पोर्टस क्लबका पदाधिकारीसहित जम्मा १ सय ३२ मतदाताले चुनावमा मतदान गर्ने छन् ।

आगामी नेतृत्वसँग सरकारको मुख मात्र ताक्ने नभई, संघलाई आत्मनिर्भर बनाएर राष्ट्रिय खेल भलिबललाई अझ व्यवसायिक बनाउनुपर्ने दायित्व छ ।