७ बैशाख २०८१, शुक्रबार

शिर्ष नेता नै चुनाव जित्न धेरै निर्वाचन क्षेत्र रोज्दै !

all party
फाइल फोटो

मंसिर ४ गते हुने आमचुनावका लागि राजनीतिक दलहरुमा उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ । प्रमुख दलका नेताहरु कहाँबाट उठ्दैछन् र कति सुरक्षित भन्ने चासो पनि धेरैमा छ ।

आफूलाई लोकप्रिय देखाउन र सुरक्षित राख्न नेताहरुले ६ वटासम्म क्षेत्रबाट सिफारिस गराएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ ठाउँबाट सिफारिस हुँदा प्रधानमन्त्री पत्नी आरजु देउवा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चार ठाउँबाट सिफारिस भएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा २०४८ सालबाट लगातार जित्दै आएको गृह जिल्ला डडेल्धुराबाट सिफारिस भएका छन् ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१०, २०७० मा काठमाडौं–१० र सिरहा–५ तथा २०७४ सालमा चितवन ३ मा उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस पटक गोर्खा–१, नवलपुर–१, बागलुङ–२ र चितवन–३ बाट सिफारिस भएका छन् ।

२०५६ सालमा रौतहट १ र ४, २०६४ सालमा काठमाडौं २ र रौतहट १ तथा २०७० मा रौतहट १ तथा २०७४ मा काठमाडौं २ बाट चुनाव लडेका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार यस पटक काठमाडौं २ र रौतहट १ तथा ४ बाट सिफारिस भएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट चुनाव लड्ने तयारीमा छन् । अघिल्लो निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

अघिल्लो चुनावमा सप्तरी २ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यस पटक सिरहा १ र २, बारा २, सप्तरी २, पर्सा ४ गरी ६ निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

प्रायः सबै शीर्ष नेताहरुले यसअघि आफूले जितकै निर्वाचन क्षेत्र रोजेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर बारा ४ र महोत्तरी ३ बाट सिफारिस भएका छन् । उनी अघिल्लो निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भएका थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट चुनाव लड्दैछन । भट्टराई र लिङ्देल यसअघि पनि यिनै क्षेत्रबाट निर्वाचित भएका थिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ-१ बाट सिफारिस भएका छन् । यो हेर्दा अधिकांश दलका शीर्ष नेता प्रत्यक्षतर्फबाटै निर्वाचन लड्ने तयारी देखिन्छ ।

शीर्ष मात्र होइन, पार्टीका प्रभावशाली नेताहरु पनि विगतमा चुनाव लडेकै क्षेत्रबाट यस पटक पनि सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल इलाम १, कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १, शेखर कोइराला मोरङ-६, महामन्त्री गगनकुमार थापा, काठमाडौं ४, कास्की–१ र सर्लाही ४ तथा विश्वप्रकाश शर्मा झापा १ बाट सिफारिसमा परेका छन् । अघिल्लो चुनावमा पौडेल सोही क्षेत्रबाट पराजित भएका थिए । यस्तै थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

यस्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५, शंकर पोखरेल दाङ २ र भीम रावल अछाम १ बाट सिफारिस भएका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दाङ २ र महासचिव देवप्रसाद गुरुङ लमजुङबाट सिफारिसमा पर्दा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट १ बाट लड्ने तयारीमा छन् । २०७४ सालको निर्वाचनमा बर्दिया १ मा पराजित भएका बामदेव गौतम यस पटक प्युठान-१ बाट लड्ने तयारीमा छन् ।