१२ बैशाख २०८१, बुधबार

कसले कति सिट पाउने भन्ने विषयमा गठबन्धन दलहरुबीच सहमति, काँग्रेस ८६ सिटमा सहमत

gath

आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा दलहरुबीच सहमति भएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले सहमति जुटाएको हो । स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच आज पुनः छलफल हुनेछ ।

सिट बाँडफाँट कार्यादलले सहमतिको प्रतिवेदन आजै सार्वजनिक गर्ने तयारी छ ।

पहिले १०० सिटमा दाबी गर्दै आएको कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिनुभएको थियो ।

यता माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरूबीच सहमति भइसकेको र लिपिबद्ध गर्न मात्र बाँकी रहेको बताउनुभयो । बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उहाँको दाबी छ ।

कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।