१३ बैशाख २०८१, बिहीबार

अहिलेको जुन गठबन्धन छ, यो कायम रहन्छ, गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : मन्त्री कार्की

gyanandra bahadur karki
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ, गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ।’’

नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालको नेतृत्वको कार्यसमितिका पदाधिकारीलाई बधाइ दिनुहुँदै मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको र सरकारको तर्फबाट सम्पूर्ण सहयोग रहने छ भन्नुभयो।

निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको स्पष्ट पार्नु हुँदै सञ्चारमन्त्री कार्कीले गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताउनु भयो।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘यो गठबन्धनले मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो। यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ। सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थितरुपले चाँडै नै हुनेछ।’’

मन्त्री कार्कीले गठबन्धन भित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पार्नुभयो।

भेटमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहितका पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराउनु भएको थियो। अध्यक्ष लम्सालले भन्नुभयो, ‘‘मिडियासम्बन्धी ऐनहरू सञ्चारमैत्री हुनुपर्‍यो, राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको मिडिया काउन्सिल विधेयकमा परेका कतिपय संशोधन उचित रहेकाले ती विषयलाई समेत समेटेर पारित गरिनुपर्छ।’’

संविधानले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई व्यवहारमा उतार्ने कानुन बन्नुपर्नेमा जोड दिँदै अध्यक्ष लम्सालले भन्नुभयो, ‘‘सरकारले गरेका असल कार्यमा नेपाल प्रेस युनियनले सहयोग गर्छ।’’

सञ्चार प्रतिष्ठानहरूमा कार्य गर्ने श्रमजीवी पत्रकारहरूको हकहित, आर्थिक-समाजिक र व्यावसायिक सुरक्षाका लागि युनियन प्रतिबद्ध रहेको स्पष्ट गर्दै अध्यक्ष लम्सालले यस कार्यमा सरकारको पनि साथ र सहयोग आवश्यक पर्छ भन्नुभयो।