
फिल्म ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मको यस अघि पहिलो झलककारुपमा तीन वटा पोस्टर सार्वजनिक भएका थिए ।
सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा सार्वजनिक पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् भने, बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । यस्तै अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।
महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।
ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।