१६ चैत्र २०८०, शुक्रबार

गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा राप्रपालाई उपस्थित गराउनेछु: राजेन्द्र लिङ्देन

Rajendra Lingden

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा हुने निर्वाचनमार्फत राप्रपालाई संसदमा हुने गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा उपस्थित गराउने बताएका हुन् । 

सांसद पद त्यागेको घोषणासँगै अरु सांसदहरुले पुनः जितेर आउन शुभकामना दिँदै उनले भने, ‘सबै माननीय सदस्यहरुलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय (संसदमा हुने गलत निर्णय) हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदै छु ।’

आफू र आफ्नो दलको स्वार्थका लागि गर्ने निर्णयहरु आगामी संसदमा हुन नहुने भन्दै उनले यसप्रति सबै राजनीतिक दलहरुलाई संकल्प गर्न आग्रह गरे । 

अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई उनले आग्रह पनि गरे । 

४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् । 

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ ।

अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ ।

यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’