८ बैशाख २०८१, शनिबार

डिभी २०२३ का विजेतालाई डीएस २६० मात्र बुझाउन सुझाव, अरु कागजात अन्तरवार्तामा, अक्टोबरबाट भिसा

visa waiver

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले डिभी २०२३ का विजेताहरुलाई केन्टकी सर्भिस सेन्टरमा डीएस २६० फर्ममात्र बुझाउन सुझाव दिएको छ । आफू र परिवारका सदस्यहरुका लागि डीएस २६० फर्म बुझाउन र थप कागजातहरु भिसा अन्तरवार्ताका बेलामा दूतावासमा लैजान सुझाव दिइएको छ ।

डीएस २६० प्राप्त भएपछि केन्टकी सर्भिस सेन्टरले यसको पूर्णताको लागि समीक्षा गरेर त्यो केस भिसा अन्तर्वार्ताको लागि निर्धारित गर्न योग्य भए नभएको ठहर गर्नेछ । आवेदकको भिसा केस नम्बर भिसा बुलेटिनमा करेन्ट भए नभएको आधारमा प्रकृया अगाडि बढाइनेछ ।

डिभी २०२२ का विजेताहरुका लागि लागु हुनेगरी गतबर्षदेखि डीएस २६० का साथमा कागजात पेश गर्न नपर्ने व्यवस्था गरिएकोमा डिभी २०२३ का सन्दर्भमा पनि सोही व्यवस्था जारी राखिने भएको हो ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

२०२३ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेको छ । अक्टोबरमा १४५० सम्म केस नम्बर भएका नेपाली डिभी विजेताहरुकोमात्र प्रकृया अगाडि बढाइनेछ ।