१६ चैत्र २०८०, शुक्रबार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

arest

महोत्तरी, कञ्चनपुर, कास्की, रुपन्देही र कैलालीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको सम्सी गाउँपालिका–४ बस्ने ३० वर्षीया सन्जु देवी झालाई ४ सय ग्राम गाँजा सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–६ चुनेपानीस्थित सडकबाट ३ किलो ११८ ग्राम चरेश, एक थान डिजिटल तराजु र नगद २९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका–७ बस्ने ४२ वर्षीय शेर बहादुर धामी रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसस्थित सडकबाट करिब ४ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ दुवानखर्क घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३३ वर्षीय दिल बहादुर डिमडुङ रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७५१९ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका–१३ गौडाको मुखबाट करिब १ किलो गाँजासहित सोही महानगरपालिका–२० भलाम घर भएका २० वर्षीय रोचक गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिआरभी भद्रकालीबाट खटिएको प्रहरीले ग.१३ प ६०६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कटुर चालक रोचकलाई पक्राउ गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट करिब ३० ग्राम ब्राउनसुगरसहित काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ बस्ने २२ वर्षीय निश्चल उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–१ मालीबाट ६ ग्राम १ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार...