
एक–अर्कामा फरक फरक विचार बोकेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमै अध्यक्ष केपी शर्मा ओलीले विचार र सिद्धान्त मिल्नेसँग गठबन्धन गर्दा मात्र पार्टीको शाख जोगिने र लोकतन्त्र बलियो हुने सन्देश दिनुभएको थियो । तर, संघीयता र गणतन्त्र नमान्ने सिद्धान्त बोकेको राप्रपासँग गठबन्धन कसरी भन्ने प्रश्न उठेको छ ।
नेकपा एमालेको भदौ ११ गते सकिएको चौथो केन्द्रीय कमिटी बैठकले लोकतन्त्र, समाजवाद र अग्रगमन पक्षधर शक्तिलाई एकतावद्ध बनाउँदै चुनावी मैदान जान सक्ने निर्णय गर्यो ।
एमाले निर्णयको दश नम्बर बुँदामा दक्षिणपन्थ र यथास्थितिवाद विरुद्ध उभिने संकल्प पनि गरेको छ । यही आधारमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि पटक–पटक विचार र सिद्धान्त मिल्नेसँग मात्र गठबन्धन गर्ने बताउँदै आउनुभएको छ ।
तर, मंगलबार एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति जुट्यो । सिट बाँडफाँटको मोडालिटीमा छलफल थालेका दुबै दलले केही दिनमै टुंगो लगाउँदैछन् ।
चुनावी तालमेलमा जुटेका एमाले र राप्रपा विपरित सिद्धान्त र विचार बोक्ने दलहरु हुन् । एमालेले केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय विपरित राप्रपासँग कुन आधारमा तालमेल गर्न पुग्यो भन्ने प्रश्न उठेको छ ।
एमालेले बोकेको मुलभूत विचार
संघीयता, गणतन्त्र र समाजवादमा प्रतिबद्ध
राप्रपाले बोकेको मुलभूत विचार
संघीयताको खारेजी, संवैधानिक राजसंस्था
फरक–फरक विचार बोकेका सत्तारुढ पाँच दलीय गठबन्धन कुर्सीकै लागि नजिकिएको आरोप लगाएको एमाले आफ्नो हकमा राप्रपासँग तालमेल गरेर कुर्सी पाउने दाउमा देखिएको छ ।
स्थानीय तह निर्वाचनमा एमाले र राप्रपाको दलगत मत परिणाम
एमाले – ३८ लाख ११ हजार ६०२ मत
३३.०३ प्रतिशत
राप्रपा – ३ लाख ६४ हजार १६० मत
३.१६ प्रतिशत
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा पाँच दलीय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा बहुमतका लागि १६ प्रतिशत मत अपुग हुने निश्कर्ष छ । यो मत पुर्ताल गर्न राप्रपासँगको तालमेल आवश्यक रहेको निश्कर्ष निकाल्दै एमाले अहिले निरन्तर छलफलमा छ । सत्तामा पुग्न एमालेले पनि विचार र सिद्धान्तलाई विर्सिएको आलोचना पनि हुन थालेको छ ।