१६ चैत्र २०८०, शुक्रबार

सरकारले आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये छ वटाको फुकुवा, बाँकी चारमा प्रतिबन्ध

baideshik byapar import

सरकारले आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये छ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, सबै प्रकार खेलौना र तासको आयात बन्देज खुला भएको हो ।

सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चापदार्थबाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहनबाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राखिएको छ ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको कारण देखाउँदै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै दश वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

त्यतिबेला आयात प्रतिबन्धको सूचीमा परेका मध्ये मोबाइल र मोटरसाइकलको सीमा तोकिएको थियो, जसअनुसार छ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल सेट, २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

त्यसपछि केही संशोधन गर्दै साउन १ गतेदेखि भदौ १४ सम्मेका लागि दश वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । जसअनुसार तीन सय अमेरिकी डलरभन्दा माथिका मोबाइल र १५० सीसीभन्दा माथिका मोटरसाइकलमा आयात प्रतिबन्ध लगाइएको थियो ।

आयातमा प्रतिबन्ध लगाइए पनि नेपालस्थित कूटनीतिक नियोग, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा त्यस्ता संस्थामा कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीको निजी प्रयोजनमा भने बाधा नपर्ने राजपत्रमा उल्लेख छ ।