६ बैशाख २०८१, बिहीबार

सुरक्षित क्षेत्रको खोजी गर्न थाले शीर्ष नेता, आफ्नै चुनावी क्षेत्रमा चुनौती

election

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेताहरु सुरक्षित क्षेत्रको खोजी गर्न थालेका छन् । तर राजनीतिक दलका कतिपय मुख्य नेताहरु नै आफ्नो चुनावी क्षेत्रमा सुरक्षित छैनन् । केही नेतालाई पार्टीभित्रकै आन्तरिक व्यवस्थापन चुनौति छ भने कतिपयको निर्वाचन क्षेत्र नै टुंगो लागेको छैन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा कांग्रेसकै नेता कर्ण मल्लले आगामी निर्वाचनमा चुनौति दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । कांग्रेसका अर्का नेता रामचन्द्र पौडेललाई पनि तनहुँ–१ मा गोविन्दराज जोशीले चुनौति दिँदै आएका छन् ।

पार्टीभित्रको आन्तरिक किचलो नमिलाए मोरङबाट नेता शेखर कोइरालालाई पनि सहज छैन । पौडेल र कोइराला अघिल्लो निर्वाचनमा पनि पराजित भएका थिए ।

कांग्रेसमा मात्र होइन, विपक्षी एमालेका मुख्य नेतालाई पनि चुनौती छ । झापा–५ बाट निर्वाचित हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो पटक सत्ता गठबन्धनका कारण चुनाव जित्न सजिलो छैन ।

अघिल्लो निर्वाचनमा राप्रपाको समेत साथ पाएका ओलीलाई यस पटक राप्रपासँगै स्वतन्त्र उम्मेदवार चुनौति हुने देखिन्छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको काठमाडौं क्षेत्र नम्बर ५, उपाध्यक्ष सुभासचन्द्र नेम्वाङको इलाम–२ मा गठबन्धनले साझा उम्मेदवार तय गरे चुनाव जित्न सजिलो छैन । त्यति मात्र होइन, गुल्मीमा प्रदिप ज्ञवाली र गोकर्ण विष्ट तथा ताप्लेजुङमा योगेश भट्टराईलगायतका नेता सुरक्षित छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा गठबन्धन दलले असहयोग गरे जित कठिन बन्न सक्छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौंबाट कि रौतहटबाट उम्मेदवार बन्ने भन्ने दोधारमा छन् । आफ्नो निर्वाचन क्षेत्रमा असुरक्षित भए कतिपय नेताले क्षेत्र नै परिवर्तन गर्ने मनस्थितिमा छन् ।

पराजित हुने डरले निर्वाचन क्षेत्र नै परिवर्तन गर्न खोज्नु राजनीतिक संस्कार भने होइन । आफू जसरी पनि जितेर केन्द्रमा जानुपर्छ भन्ने मनोविज्ञान नै गलत भएको तर्क केही नेताहरुकै छ ।

आगामी निर्वाचनमा एमालेका नेताहरुलाई सबैभन्दा बढी डर गठबन्धनबाट छ । तर गठबन्धन दलका नेताहरुमा आफ्नो निर्वाचन क्षेत्र अरुलाई पर्ने हो वा गठबन्धनभित्रैबाट असहयोग हुने हो कि भन्ने चिन्ता देखिन्छ ।