१५ आश्विन २०७९, शनिबार

जनाधार भएका उम्मेदवार सिफारिस गर्न पार्टी कमिटीलाई एमालेकाे निर्देशन

uml meting

नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ ।

शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो । बैठकले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिएको हो ।

सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ । एमालेले उम्मेदवार छनोटको मापदण्ड पनि तय गरेको छ ।

पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनुभयो ।

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर गतिविधि नगर्न पनि सचेत गराएको छ ।

त्यस्तै, सिफारिसमाथिको अन्तिम निर्णय केन्द्रले गर्ने, प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका, कम्तिमा एक जना महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्ने, निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न नमिल्ने एमालेले निर्णय गरेको छ ।

समानुपातिकका लागि बन्दसूचिको उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुुलन, समावेशिता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्नुपर्ने भनेको छ ।

सो सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्तिम कुनै राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्न सो दलले भनेको छ ।

जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा विशेष निर्णय लिने पनि एमालेले निर्णय गरेको छ ।