६ बैशाख २०८१, बिहीबार

पटकपटक एउटै व्यक्ति समानुपातिक कोटाबाट सांसद बनेपछि दलहरुले समानुपातिक प्रणालीलाई प्रभाकारी बनाउनेतर्फ

60fa8d499fa22 house
फाइल फोटो

पटकपटक एउटै व्यक्ति समानुपातिक कोटाबाट सांसद बनेपछि समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उठेको छ । समानुपातिकतर्फको सांसदका योग्यताभन्दा पनि स्वार्थप्रेरित रहेको भन्दै आलोचना भएपछि दलहरुले समानुपातिक प्रणालीलाई प्रभाकारी बनाउनेतर्फ सोच्न थालेका छन् ।

विभिन्न समुदाय, वर्ग, पिछडिएको क्षेत्रको समेत समानअनुपातमा संसदको प्रतिनिधित्वका लागि समानुपातिक अवधारणा ल्याइयो ।

२०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै नेपालले मिश्रित निर्वाचन प्रणाली अंगिकार गर्‍यो । तर, जुन उद्देश्यले समानुपातिकको व्यवस्था गरियो, त्यो कार्यान्वयन हुन सकेन ।

समानुपातिक सांसदको सिफारिसमा पार्टीका शीर्षनेताहरुले दुरुपयोग गरेको आलोचना बढ्यो । पैसाको लेनदेनदेखि आफन्तलाई राजनीतिमा सुरक्षित गर्ने माध्यामका रुपमा समानुपातिक प्रतिनिधित्वको प्रयोग हुन थाल्यो ।

जसका कारण धेरैले समानुपातिक निर्वाचन प्रणाली नै खारेज हुनुपर्ने माग गर्दै आएका छन् । समानुपातिक प्रणालीप्रति जनताको आक्रोशकै उपज हुनुपर्छ, अहिले दलहरुले यसबारे पुनर्विचार गर्न थालेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सांसद बनेकाहरुलाई पुनः समानुपातिकमा नदोहोर्‍याउने नीति बनाएको छ । कांग्रेसले परिपत्रै जारी गरेर प्रदेश र प्रतिनिधिसभा सांसद सिफारिस गर्दा नदोहोर्‍याउन भनिसकेको छ ।

कांग्रेसको विधानमै पनि समानुपातिकबाट सांसद बनेको व्यक्ति लगत्तै समानुपातिकबाटै सांसदको उम्मेदवार हुन रोकेको छ । यसो गर्दा नयाँले अवसर पाउने भएकाले पनि समानुपातिकामा नदोहोर्‍याउने निर्णयलाई सकारात्मक ठानिएको छ ।

प्रत्यक्ष निर्वाचनमार्फत सबै समुदायको प्रतिनिधित्व हुन नसक्ने भएकाले समानुपातिक प्रणाली राखिएको हो । तर, समानुपातिक प्रणालीले सम्बोधन गर्नुपर्ने व्यक्तिहरु भन्दा अन्य प्रभावका आधारमा अरुले नै समानुपातिकको कोटा कब्जा गरिरहेका छन् । कांग्रेसले समानुपातिकबाट नयाँलाई अवसर दिने तयारी गरिरहँदा एमालेले पनि आमरुपमा नदोर्‍याउने निर्णय गरेको छ ।

ढिलै भएपनि समानुपातिक निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन कांग्रेसले लिएको नीतिलाई उचित ठानिएको छ । एमाले, माओवादी केन्द्र लगायतका दलले पनि के गर्छन् धेरैको चासो छ । अन्य दलले पनि समानुपातिकमा नदोहोर्‍याउने नीति लिएमा मंसिर ४ मा हुने निर्वाचन संसदमा धेरै नयाँ अनुहार पुग्न बाटो खोल्नेछ ।

यसो हुँदा बल्ल समानुपातिक प्रणालीको औचित्य र सान्दर्भिकता पुष्टि हुनेछ । तर, नयाँ अनुहार पनि समानुपातिक प्रतिनिधित्वको मूल भावना अनुरुप नै हुनुपर्छ । नयाँ अनुहारका नाममा आफन्त वा व्यापारीलाई ल्याउने काम गर्नुहुँदैन ।