१६ चैत्र २०८०, शुक्रबार

बनस्थली क्षेत्रका अवैध घरटहरा भत्काउन महानगरपालिकाकाे डाेजर

balen1661579411

काठमाडौं महानगरपालिकाले शनिवार पनि अवैध घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ।

शनिवार बालाजु बनस्थली क्षेत्रमा अवैध र अनधिकृत रुपमा प्रयोग भएका घर टहरा भत्काइएको छ । 

काठमाडौँ महानगरपालिकाले शनिबार बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर, टहरा र फलामे भर्याङहरु भत्काउन डाेजरकाे प्रयाेग गरेकाे छ ।

सार्वजनिक जग्गामा रहेको, विना अनुमति बनाइएको घर टहरा भत्काउन डाेजरकाे प्रयाेग गरिएकाे हाे ।

महानगरले यसअघि ३५ दिन भित्र अवैध स‌ंरचना हटाउन निर्देशन दिएकाे थियाे । महानगरकाे निर्देशन अटेर गर्नेहरूकाे घरटहरा भत्काउन महानगरले अभियान नै सञ्चालन गरिरहेकाे छ ।

महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले शनिवार बिहानैदेखि बालाजु र बनस्थली आसपासका क्षेत्रका अवैध टहराहरु भत्काउने क्रम जारी रहेको बताउनुभयो । 

अवैध संरचना भत्काउन महानगरका एसपी राजु पाण्डेको नेतृत्वमा टोली खटिएको महानगरपालिका स्राेतले जानकारी दिएकाे छ ।

सुरक्षाका लागि महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ । डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।