१६ चैत्र २०८०, शुक्रबार

लकडाउनयता गुल्मीमा १६ जनाले गरे आत्महत्या

suicide and suicidal behavior

गुल्मीमा लकडाउन जारी भएपछि १६ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले लकडाउन शुरु भएपछि अहिलेसम्मको अवधिमा १६ जनाले आत्महत्या गरेको जनाएको छ ।

जसमा पाँच पुरुष, तीन महिला र चार बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । दुई पुरुष र एक बालकले बिष सेवन गरेका छन् भने एक पुरुषले पानी ट्याङकीमा डुवेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधाराका ८० बर्षीय बृद्ध कर्ण बहादुर वस्नेतले शनिबार मुसा मार्ने बिष सेवन गरेर आत्महत्या गरेका छन् । जिवनको उत्तरार्द्धमा पुगेका व्यक्तिले किन आत्महत्या गरे केहि खुलेको छैन ।

कालिगण्डकी गाउँपालिका-५ फोक्सिङ्गका ७० वर्षीय ओम बहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले नयाँ बर्षकै दिन एउटै पासोमा झुण्डिएर आत्महत्या गरे । त्यो पीडाले एक छोरा र तीन छोरीको परिवार अहिलेसम्म बिक्षिप्त छन् । सामान्य अवस्थामा जिविकोपार्जन गरिरहेका दम्पतिले यसरी आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन ।

गत शुक्रबार मदाने गाउँपालिका-२ बाँझकटेरीका २३ वर्षीय लिला बहादुर झाँक्रीले पनि रुखमा झुण्डिएर आत्महत्या गरे । परिवारका अनुसार उनले आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन ।

लकडाउन पहिले ४८ आत्महत्या

जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउन पहिले ४८ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक बर्षको १० महिनामा ६४ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

गत आर्थिक बर्षमा बिष पिएर पाँच, झुण्डिएर ४८ र खोलामा हाम फालेर एक जनाले आत्महत्या गरेका थिए । भने आर्थिक बर्ष ०७४र०७५ मा बिष पिएर तीन, झुण्डिएर ५३ र खोलामा हाम फालेर एक जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले आत्महत्याको एउटै कारण नहुने बताए । उनले उमेर ढल्केकाहरुसंग बितृष्णा, एक्लोपन र दिर्घरोग, विवाहित जोडीमा पारिवारीक खटपट र युवायुवतीमा माया प्रेमको असफलता नै आत्महत्याको कारण बन्ने गरेको बताए ।

मानसिक रोग बिशेषज्ञ डाक्टर मनोज ढुंगानाले आत्महत्याको प्रमुख कारण डिप्रेसन नै हुने गरेको बताउँदै आएका छन् । उनले धेरै आत्महत्या योजना र आवेकबाट हुने भएकाले आर्थिक वा सामाजिक कारणले पनि यसमा बल पुग्ने बताए ।