१२ बैशाख २०८१, बुधबार

वर्षौंदेखिका बेथिती हटाउन आक्रमक शैलीमा मैदानमै उत्रिए बालेन्द्र शाह

300606255 444040174433917 3560199889128251229 n

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह वर्षौंदेखिका बेथिती हटाउन आक्रमक शैलीमा मैदानमै उत्रिएका छन् ।

शाहले स्वतन्त्र रुपमा चुनाव जितेकाले दलीय प्रभावमा नपरी कार्य सम्पादन गर्ने क्षमता रहेको टिप्पणीसमेत भइरहेको छ । तर उनले बेथिति हटाउन धेरै चुनौतीको सामना भने गर्नुपर्ने देखिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह केही दिन यता अनधिकृतरुपमा बनाइएका संरचना भत्काउने तथा प्रयोजन विपरित प्रयोग भइरहेका स्थान खाली गराउने अभियानमा छन् ।

उनी एक महिने सूचना दिँदा पनि त्यस्ता संरचना हटाउन अटेरी गर्नेहरुमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । केही दिनदेखि आफैं मैदानमा उत्रिएर अवैध संरचना भत्काउने गर्दै आएका छन् ।

उनको निर्देशनमा महानगरको टोली शुक्रबार राहदानी विभाग पुगेको थियो। गतवर्षदेखि राहदानी विभाग बसेको यो भवनमा बेसमेन्ट पार्किङमा होल्डिङ सेन्टर राखिएको थियो भने, सेवाग्राही सडकमै पार्किङ गर्न बाध्य थिए । महानगरको टोलीले बेसमेन्टमा पार्किङकै व्यवस्था गर्न निर्देशन दियो।

कुनै पनि नगर सभ्य र सुशासित हुन नागरिकले नियम–कानुन मान्नुपर्छ । व्यवस्थित सहर निर्माणको जिम्मा सरकारको मात्र नभएर जनताको पनि हुन्छ।

लामो समयदेखि काठमाडौंमा बनेका अवैध संरचना, नियमविपरित बनेका भवनको कसैले अनुगमनसम्म गरेको थिएन । तर अहिले नगर प्रमुख शाहले चुनौती मोलेरै काम अघि बढाएका छन् ।

काठमाडौंका प्रमुख शाहले सुरु गरेको अभियानको पक्ष र विपक्षमा स्वरहरु सुनिन थालेको छ । पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि आफूलाई जस्तो दलीय दबाव बालेन्द्रलाई नभएको र ईमान्दार प्रयास सफल हुने भन्दै शुभकामना दिएकी छन् ।

तर यसअघि महानगरका हरेक जसो काम र कार्यक्रममा प्रमुखसँगै उपप्रमुखको पनि सहभागिता देखिने गरेकोमा यस पटक उपप्रमुख सुनिता डंगोलको उपस्थिति देखिएको छैन । यसलाई केहीले भने दलीय प्रभावका रुपमा लिएका छन् ।