६ बैशाख २०८१, बिहीबार

‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छ’

yogesh bhattarai
फाइल फोटो

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ ।

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो ।

उहाँले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पार्नुभयो ।

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहोर्याउनुभयो ।

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनुभयो ।

उहाँले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दाबी गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पार्नुभयो। संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर निर्वाचनमा जाने उहाँको तर्क थियो ।

सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनु भयो ।

सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताउनुभयो ।