८ आश्विन २०७९, शनिबार

मै हुँ गठबन्धनको साझा उम्मेदवार, निर्वाचनकाे तयारी थाल्नुहाेस् : मन्त्री चौधरी

metmani

नेकपा (एकीकृत समाजवादी)का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताउनुभएकाे छ।

क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुग्नुभएका मन्त्री चाैधरीले पार्टी स्थापना भएको भर्खरै एक वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न, नयाँ साथीहरुलाई पार्टी प्रवेश गराउन र उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताउनुभयाे ।

राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डिपिआरको थप प्रक्रिया अघि बढ्ने बताउँदै मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘तपाईँहरु चुनावको तयारीमा लाग्नुहाेस् । केही समस्या भए भन्नुहाेस् । यति बुझ्नुहाेस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ ।’

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर केसी, केन्द्रीय कमिटी सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे लगायतले निर्देशनात्मक मन्तव्य राख्नुभएकाे थियाे ।