१४ बैशाख २०८१, शुक्रबार

सामाजिक सुरक्षा कोषमा आबद्ध अशक्त बिरामीलाई घरमै स्वास्थ्य सेवा

Samajik Surakshya

सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा श्रमिकको सुरक्षाका लागि उपलब्ध हुने सेवाहरू थपिँदै गएका छन् ।

कोषको औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा आबद्ध अस्पताल जान नसक्ने बिरामीका लागि घरमै चिकित्सक बोलाएर उपचार गरे बापतको खर्च कोषले नै बेहोर्ने छ भने देशका विभिन्न ३३ वटा अस्पतालमा उपचार गरेबापत सिधै कोषले नै रकम भुक्तानी गरिदिने नयाँ व्यवस्था पनि सुरु भएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले कोषका विभिन्न चार वटा योजना अन्तर्गत सेवाहरू उपयोग गर्न सक्ने व्यवस्था रहेको छ ।

सामाजिक सुरक्षा कोषले श्रमिकको सुरक्षाका लागि औषधी उपचार र स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजनाका साथै वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा योजनामार्फत सम्बन्धित योगदानकर्तालाई आवश्यकताका आधारमा रकम वितरण गर्ने गर्दछ ।

हालै कोषले औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत कोषसँग सम्झौता गरेका देशका विभिन्न स्थानमा रहेका ३३ वटा स्वास्थ्य संस्थामा गएर उपचार गराएमा कोषले सिधै रकम भुक्तानी गरिदिन सक्ने गरी विद्युतीय प्रणाली जडान गरेको र यदि अस्पतालसम्म जान नसक्ने अवस्थामा रहेका बिरामीका लागि घरमै चिकित्सक बोलाएर उपचार गरेमा त्यसको खर्च कोषले नै बेहोर्ने व्यवस्था रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस प्रणाली अन्तर्गत सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले सम्बन्धित स्वास्थ्य संस्थामा गई आफ्नो परिचयपत्र देखाएपछि सम्पुर्ण विवरण हेर्न सकिने र उपचार गरिसकेपछि अस्पतालले दाबी गरेको रकम सामाजिक सुरक्षा कोषले भुक्तानी गरिदिन्छ ।”

यसरी सेवा प्रदान गर्ने क्रममा कोषले अन्य स्वास्थ्य संस्थासँग पनि सम्झौता गर्ने क्रममा रहेको र क्रमशः यो सेवालाई थप गर्दै लैजाने जनाएको छ ।

हालसम्म कोषबाट ५४ हजार श्रमिकले विभिन्न प्रकारका सेवा लिइसकेका छन् भने कोषबाट उपलब्ध गराइने सेवालाई थप प्रभावकारी बनाउन विभिन्न समयमा सामाजिक सुरक्षा योजना कार्यविधि निर्देशिका संशोधन गर्ने, देशका विभिन्न स्थानमा कोषका शाखा विस्तार गर्ने तथा कोषको मोबाइल एप सञ्चालन गरी घरमै बसेर सेवा लिन सकिने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको कोषका प्रवक्ता पन्थी बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ, “योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट उपलब्ध गराइने सेवालाई थप प्रभावकारी, दिगो र योगदानकर्ता मैत्री बनाउन सरकार, श्रमिक र रोजगारदाता कम्पनी सबै पक्षसँग निरन्तर छलफल भइरहेको छ ।

सरकारले श्रमिकको सुरक्षाका लागि २०७५ साल मङ्सिरदेखि सुरु गरेको सामाजिक सुरक्षा कोष कार्यक्रममा हालसम्म करिब ३ लाख ५५ हजार श्रमिक र करिब १७ हजार ३ सय रोजगारदाता आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषमा हालसम्म २२ अर्ब ३४ करोड रुपैयाँ रकम जम्मा भइसकेको र कोषका ४ वटा योजनामार्फत करिब ३ वर्षको बीचमा २ अर्ब ४ करोड रुपैयाँ रकम ५४ हजार सम्बन्धित योगदानकर्ताहरूले उपयोग गरिसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

    सम्बन्धित समाचार...