१३ बैशाख २०८१, बिहीबार

अस्पतालकै कर्मचारीबाट डाक्टर कुटिएपछि…

ku

स्वास्थ्य संस्थामा चिकित्सक राख्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । सुरक्षाको प्रत्याभूति नहुँदा चिकित्सकहरु स्थानीय तहमा सेवा दिन जाने वातावरण कमजोर हुँदै गएको स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले देखाएको छ ।

निराश र हतास अनुहार लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आकस्मिक विभागमा कार्यरत डाक्टर करण साह, नेपाल चिकित्सक संघ, काठमाडौं आइपुग्नु भएको छ । भदौ २ गते साह आफू कार्यरत अस्पतालकै कर्मचारी धनबहादुर शाहीबाट कुटिनुभयो ।

साहलाई लागेको बाहिरी चोट त निको हुने क्रममा छ । भित्री घाउले अझै दुख दिइरहेको छ । त्योभन्दा अझ धेरै साहलाई आफ्नै संस्थामा कार्यरत कर्मचारीले दिएको मानसिक चोटले सताइरहेको छ । सेवा भावले जुम्ला पुगेका साह आफू कुटिएपछि अब के आधारमा अरु चिकित्सक त्यहाँ जान्छन भन्ने पीरमा हुनुहुन्छ ।

भदौ २ गते प्रतिष्ठानकै कर्मचारीको बच्चाको निधारमा लगाइएको टाँका काटिदिन आग्रहसहित धनबहादुर अस्पतालको आकस्मिक कक्षमा पुगे । साहले टाँका काट्ने काम आकस्मिक कक्षमा नहुने र ओपिडीमा हुने भनेपछि कर्मचारी डाक्टर साहमाथि खनिए । गत जेठ १६ गते प्रतिष्ठानमा पुगेका डा. साह कुटिएपछि उहाँको परिवार पनि विक्षिप्त बनेको छ ।

चिकित्सकमाथि भएको कुटपिटको छानबिन गर्न नेपाल चिकित्सक संघको ३ सदस्यीय टोली जुम्ला पुगेर फर्किसकेको छ । घटनामा संलग्न दोषीलाई पक्राउ गरी अनुसन्धान समेत भइरहेको छ । तर पीडकलाई छुटाउन राजनीतिक दबाब छ ।

स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ को दफा ३ को उपदफा ुगुमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउन नहुने उल्लेख छ ।

यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर पनि चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोकिएको छैन । यसले स्वास्थ्यकर्मीहरुको मनोबल खस्किँदै गएको छ ।

नेपाल मेडिकल काउन्सिलको नियमावलीमा चिकित्सकले लापरबाही गरेको अवस्थामा वा उपचार गर्न नमानेको अवस्थामा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्न सक्ने व्यवस्था छ ।

चिकित्सक संघका अनुसार २०६३ देखि एक सयभन्दा बढी स्वास्थ्यकर्मी र चिकित्सकमाथि विभिन्न कारण आक्रमण भएको छ । यस्ले चिकित्सक र स्वास्थ्यकर्मी सेवा दिइरहेकै व्यक्तिबाट असुरक्षित भएको प्रष्टाउँछ ।

    सम्बन्धित समाचार...