७ बैशाख २०८१, शुक्रबार

शीर्ष नेताले नै चुनाव जित्न कठिन एकीकृत समाजवादीमा !

madhav 1
फाइल फोटो

नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनअन्तर्गको कार्यदलमा ३५ देखि ४० सिटको दावी पेश गरेको छ । तर, स्थानीय तहको खराव प्रदर्शन र इच्छाएका अधिकांश क्षेत्रमा अघिल्लो पटक गठबन्धनभित्रकै अरु दलले जितेकाले उसको माग पूर्ण सम्बोधन हुन कठिन छ । समाजवादीका २१ पदाधिकारीमध्ये ९ जनाले मात्रै प्रत्यक्ष चुनाव सामना गर्ने तयारी गरेका छन् ।

काठमाडौं–२ मा भन्दा सहज हुने भएकाले अध्यक्ष माधव नेपाल यसपटक रौतहट–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । स्थानीय तह निर्वाचनको परिणामअनुसार काठमाडौं–२ मा एमाले र राप्रपाको भन्दा गठबन्धनको ६२४ मत मात्रै बढि छ ।

जवकि, रौतहट–१ मा एमालेभन्दा एकीकृत समाजवादी एक्लै १२ हजार मतले अगाडि छ । सत्ता गठबन्धनका अरु दलको मत थपिँदा जीत निश्चित हुने भएकाले नेपालले रौतहटबाटै प्रतिस्पर्धा गर्ने निश्चित छ ।

अन्तिमपटक भन्दै इलाम–१ बाट उम्मेदवारी घोषणा गर्नुभएका सम्मानित नेता झलनाथ खनाल २०७४ मा १७ हजार मतान्तरले विजय हुनुभएको थियो । स्थानीय तह निर्वाचनमा इलाम–१ मा एकीकृत समाजवादीले ९ हजार मत जम्मा गरेको थियो ।

खनालको जीतका लागि यो मत काफी त हुँदैन । तर, गठबन्धनको कांग्रेसले आफ्नो २५ हजार मत खन्याइदियो भने खनालको संसद यात्रा पक्का हुनेछ । इलाम–१ मा एमालेको २५ हजार मत छ ।

दुई उपाध्यक्ष, एक उपमहासचिव र ४ सचिवले प्रतिस्पर्धा गर्न खोजेको क्षेत्रमा पनि एमालेको भन्दा गठबन्धनको मत धेरै छ ।

स्थानीय तह निर्वाचन अनुसार–
आकांक्षी क्षेत्र गठबन्धनको मत एमालेको मत मतान्तर
राजेन्द्र पाण्डे धादिङ–२ ४८,८६१ २५,९३८ २२,९२३
धर्मनाथ साह सिरहा–४ ४१,७०६ १४,६७१ २७,०३५
प्रकाश ज्वाला सल्यान ६९,७९६ २६,६२८ ४३,१६८
रामकुमारी झाँक्री गुल्मी–२ ३२,३२० ३१,२५३ १,०६७
जगन्नाथ खतिवडा उदयपुर–२ २४,४०७ १८,५७३ ५,८३४
जीवनराम श्रेष्ठ काठमाडौं–८ १६,२०३ ९,२५३ ६,९५०
राजेन्द्र राई भोजपुर ४१,९५० २७,६५६ १४,२९४

कांग्रेस उदार भयो भने मात्र अघिल्लो पटकको सिट विजेता दललाई नै छोड्ने गठबन्धनको सहमति कार्यान्वयन हुने छ । माधव नेपाललाई अपवादमा राखेर सो सहमति कार्यान्वयन हुँदा पनि एकीकृत समाजवादीका पदाधिकारीमध्ये झलनाथ खनाल र जीवनराम श्रेष्ठको क्षेत्र मात्र सुरक्षित हुन्छ ।

कांग्रेसले थप लचिलो भएर अघिल्लो पटक एमालेले जितेको क्षेत्र बाँड्ने सहमति जनायो भने समाजवादीले धादिङ–२ र गुल्मी–२ मा उम्मेदवारी दिने अवसर पाउन सक्छ । सिरहा–४ जसपालाई नै छोड्नुपर्ने हुनसक्छ । अघिल्लो पटक माओवादी केन्द्रले जितेको उदयपुर–२, सल्यान र भोजपुरमा समाजवादीको दावी पुग्ने संभावना कम छ ।

जहाँ जो उम्मेदवार भएपनि माधव नेपालबाहेकको जीत सुनिश्चित गर्न गठबन्धनको ठूलो दल कांग्रेसले आफ्नो सबै मत समाजवादीका उम्मेदवारलाई खन्याइदिनुपर्छ । गठबन्धनको मर्मअनुसार मत सिफ्ट भएन भने समाजवादीको परिणाम निकै निरासाजनक हुनेछ ।