१६ आश्विन २०७९, आईतवार

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भन्न गठबन्धन डराएको ओलीको आरोप

kp oli pokhara
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताउनुभयो ।

आज ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पार्नुभयो ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो ।

सत्तारुढ दलका नेताहरु भने यसबारे चुइक्क बोल्न नसकेको उहाँको भनाइ थियो । ‘६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन ।

नेकपा एमाले बोल्यो, हामी बोल्यौं । र, हामीले नक्सा जारी गर्‍यौं । संविधानमा त्यसलाई समेट्यौं । र, हामीले पत्राचार गर्‍यौँ भारतलाई–यो हाम्रो हामीलाई दिनुस् । म सुन्छु–यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन । भारतलाई मन पर्न पर्छ,’ उहाँले भन्नुभयो ।

नेपालले आफ्नै जमिन फिर्ता मागेको पनि ओलीको भनाइ थियो । उनले अगाडि भने, ‘नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दाबी गरिरहेका छैनौं । हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं । त्यत्ति पनि मन नपाउने ? त्यस्तो पनि हुन्छ ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । यो कुरासँग यो गठबन्धन भन्ने छ नि । गठबन्धनको हुर्नुस्त म्याउम्याउ । यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन, बोल्न सक्छन ?

म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईको भूमि, तपाईको पश्चिमको नक्सा, तपाईको प्रदेशको नक्सा, तपाईको जिल्ला भन्दा एकजिल्ला पर्तेरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन ? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ । ल, भन्नुस् त्यो हो कि होइन ? बोल्नुहुन्न उहाँ ।

महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस् ? अस्ति जाँदा पनि चुँइक्क बोल्नु भएन इन्डियामा ? चुँइक्क बोल्नु भएन । बोल्नुस । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरि । उहाँ बोल्नुस । कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी ?’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनको भनाइथियो । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी पनि गरे ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाउनुभयो । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उहाँको भनाइ थियो ।

ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दावी पनि गर्नुभयो ।