१२ बैशाख २०८१, बुधबार

बारामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो

Bara CDO office

मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

मध्य तराईमा कोरोना संक्रमित बिरामीको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा र रौतहट जिल्लाबाट कार्यालय लगायतका अन्य काममा बारा जिल्ला आउन समेत रोक लगाउने निर्णय बैठकले गरेको छ ।

वाणिज्य बैंकहरु भने आलोपालो गरेर खोल्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

अत्यावश्यक सेवाहरु स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सस कृषि उपज तथा उत्पादन माछा, कुखुरा, मल र बिउका व्यवसाय भने खुल्ला रहने छन् ।

औद्योगिक कच्चा पदार्थ बोक्ने ढुवानीका साधनलाई भने सवारी पास आवश्यक पर्ने छैन ।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जिल्ला भित्र मात्र लागू हुने गरी सिकिस्त बिरामी, अति जरुरी काम बाहेक अरु प्रयोजनका लागि पास जारी नगर्ने निर्णय बैठकले गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमापूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।