८ बैशाख २०८१, शनिबार

यस्तो थियो स्वर्गीय प्रदीप गिरिको राजनीतिक यात्रा

pradip

अद्भूत अध्ययन, स्पष्ट दृष्टिकोण र सादगी जीवनका पर्याय मानिनुहुन्थ्यो, प्रदीप गिरि । पारिवारिक पृष्ठभूमिका कारण कलिलै उमेरबाट राजनीतिक यात्रा थाल्नुभएका गिरि भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहियाका विचारबाट प्रभावित हुनहुन्थ्यो । मार्क्सवादका अध्येयतासमेत रहेका गिरि पछिल्लो समय समाजवादी चिन्तकमा रुपमा चिनिनु हुन्थ्यो ।

२००४ सालमा सिरहाको बस्तीपुरमा जन्मिनुभएका गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । पार्टी प्रतिबन्धित रहेका बेला गिरिका पिता मित्रलाल नेपाली कांग्रेस सिरहाका सभापति हुनुहुन्थ्यो । र, त्यसै आसपास १३ वर्षको उमेरमा गिरिले राजनीतिक यात्रा शुरु गर्नुभयो ।

राजनीतिक यात्राः
२०२४ : नेपाल छात्र संघ वनारसको उपाध्यक्ष
२०४२ : सत्याग्रहका बेला जेल जीवन
२०५१ : प्रतिनिधिसभा सदस्य, सिरहा–५
२०६४-२०७० : संविधानसभा सदस्य (समानुपातिक)
२०७४ः प्रतिनिधिसभा सदस्य, सिरहा–१

२०४२ सालपछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका गिरि २०५९ असारमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातिर लाग्नुभएको थियो ।

समावेशीकरणका पक्षधर गिरिले पार्टीमा ‘जमदम’को नीति ल्याउनुभएको थियो । ‘ज’ भनेको जनजाति, ‘म’ भनेको महिला, ‘द’ भनेको दलित र ‘म’ भनेको मधेसी भनेर अर्थ्याउनुहुन्थ्यो, उहाँ ।

अध्ययन, दृष्टिकोण र चिन्तनसहित मार्क्सवादको व्याख्याका कारण पनि गिरिको पहिचान दलीय आवद्धताका बीच पनि सर्वस्वीकार्य बनेको थियो ।

चारपटक सांसद प्रवेश गरेपनि गिरि कहिल्यै मन्त्री भन्नुभएन । २०५६ सालको निर्वाचन प्रचार गर्न सिरहा पुग्नुभएका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावपछि मन्त्री बनाउने घोषणा गर्नुभएको थियो । तर, चुनाव हारेपछि गिरिले ‘भट्टराईको आग्रह टार्न नसक्ने आफूलाई मन्त्री बन्ने बाध्यताबाट मुक्त गरिदिएको’ भन्दै भगवानलाई धन्यवाद दिनुभएको थियो ।

तरुण पत्रिकाको सम्पादकसमेत बन्नुभएका गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

धनीमानी खान्दानमा जन्मेको भए पनि गिरि वैभवपट्टि कहिल्यै आशक्त हुहुभएन । गिरिले बस्तीपुरको पुर्ख्यौली सम्पत्ति मित्र सेवा आश्रमलाई हस्तान्तरण गर्नुभएको छ । स्वतन्त्रता, समानता र शान्तिका पक्षपाती गिरिको जीवनशैली सादगी तर अव्यवस्थित थियो ।